काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई नडराउन र नआत्तिन आग्रह गरेका छन्। आज (आइतबार) काठमाडौँमा निजी क्षेत्रका संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका प्रतिनिधिहरूसँग छलफल गर्दै उनले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन्।
‘निजी क्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ। तपाईंहरू डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीहरूलाई कुनै खालको दु:ख दिन चाहँदैनौँ,’ उनले भने।
सोही क्रममा सभापति लामिछानेले केही व्यवसायीहरू तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे। धरपकडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौँ। यसमा केही असहज हुन सक्छ,’ उनले भने।
पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगी लगायतका कसुरमा केही उद्योगी व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रास्वपाले बनाइसकेको पनि बताए।

लामिछानेले सरकारले कोही कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे। ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ। आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ। खोलाको किनारामा जोखिमामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ। सबैको सुरक्षा र पुनर्स्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबारविहीन बनाउँदैन,’ उनले भने।
त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै निजी क्षेत्रलाई सहजरूपमा काम गर्न दिन आग्रह गरे। ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजी क्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ। यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो,’ उनले भने।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे। आगामी बजेटमा यसबारेमा ध्यान दिन पनि उनले सुझाव दिए।
त्यस्तै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए। निजी क्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो।
कार्यक्रममा उद्योगीहरू हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, सशिकान्त अग्रवाल, बरुण चौधरीलगायत उद्योगी व्यवसायीहरूको उपस्थिति थियो।



