सिराहा- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा शासन गर्न खोजेको भन्दै आलोचना गरेका छन् । दिनदुखी, गरिव र असहायहरुमाथि वर्तमान सरकारले बर्बर दमन गरेको र उनीहरुलाई उठिबास लगएको भनेर आलोचना भइरहेको बेलामा अध्यक्ष साहले पनि प्रधानमन्त्री बालेन्द्र शाहले विधि मासेर बल प्रयोग र संविधान छलेर सेनामार्फत देशमा लामो समयसम्म शासन गर्न खोजेको संकेत मिलेको भन्दै यस्तो शासन नेपाली जनतालाई अस्विकार्य भएको चेतावनी दिएका हुन् ।
आज (आइतवार) सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्न सुझाव दिए । उनले विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उनले वर्तमान सरकार र रास्वपा नेतृत्व पँक्तिलाई सुझाव दिए ।
उनले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पूराना दलको दलतन्त्र र नेतातन्त्रको विरुद्धमा रास्वपालाई अभूतपूर्व जनमत दिएको भन्दै वर्तमान सरकारले जनमतको सही सदूपयोग गर्नुपर्नेमा अहिले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए । उनले भने,’हिजो पूराना दलहरुले दलतन्त्र लादे, लोकतन्त्र लज्जित बनाए अनि गणतन्त्रलाई गन्हाउने बनाएकोले नै नेपाली जनताले रास्वपाको नाममा झण्डै दुई तिहाईको बहुमत दिएका हुन् । तर, शासन गर्ने कुर्सीमा बसेकाहरुसँग जनताको सेवा गर्ने चरित्र देखिएन । उनीहरु दमनकारी हुन थालेको आभाष भएको छ ।’
बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरु नै अहिले एक महिनामै बालेनको शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको पनि पूर्वमन्त्री साहको टिप्पणी छ । उनले भने,’बालेनसँग धैर्यता देखिएन । हतार गर्दा दुई तिहाई बहुमत नै धरापमा पर्ने जोखिम पनि बढ्यो, यो कुरा रास्वपा नेतृत्व पँक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ । यो सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको संकेत देखायो । यसले मुलुक र जनतालाई ठूलो घाटा छ ।’ उनले सुकुमबासी बस्ती खाली गराउनको लागि नेपाली सेना नै फिल्डमा खटिएको र सोसम्बन्धी सार्वजनिक सूचना जारी गरेकोमा पनि आपत्ति जनाए । उनले प्रधानमन्त्री शाहले सेनाको आडमा संविधान छलेर कतै सैनिक शासनको अभ्यास गर्न खोजेको त होईन रु भनेर आशंका सर्वसाधारण जनतामा उब्जिएको उल्लेख गरे ।
देशैभरिका सुकुमबासी बस्तीमा बुलडोजर चलेको र हजारौंको संख्यामा सुकुमबासीमा बस्ने जनता विस्थापित भएको र खुला आकाशमा रात काट्न बाध्य बनाईएको भन्दै उनले देशमा अहिले विधि र विकासको शासन नभएर बलजफ्ती र विध्वंशको शासन चलिरहेको टिप्पणी गरे । उनले भने,’अहिलेको सरकारको शासन शैली हेर्दा उनीहरु देश बनाउन होइन, बिगार्नको लागि आएकोजस्तो देखियो । अहिले त एक सय दिन नपुग्दै यो सरकारले एकसय एक वितण्डा मच्चाउने भय उत्पन्न भएको छ । रास्वपा अहिलेसम्म त छँदैछ, अब बालेनको छत्रछायाँमा यसको अस्तित्व नै स्वाहाः हुने लक्षण देखिएको छ ।’
सुकुम्बासीको सेल्टर नै भत्काएर यो सरकारले न्यूनतम मानवीय संवदेना कुल्चिएको र उनीहरुको मानवअधिकारको पनि हनन गरिएको साहको आरोप छ । उनले सुकुमबासीहरुलाई उचित विकल्प नदिईकन फिल्मी शैलीमा बुलडोजर आतंक सिर्जना गरिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको टिप्पणी छ ।
शीतलनिवासमा धार्मिक झल्को दिनेगरि हिन्दू र बौध धर्म गुरुहरु बोलाएर मन्त्रोचारण गरेर शपथ लिएका बालेनले एक महिना नपुग्दै मन्दिर र गुम्बा भत्काईदिएको भन्दै साहले धार्मिक सहिष्णुताको कदर गर्न वर्तमान सरकारलाई सुझाव दिए । उनले अहिले सामाजिक सञ्जालमा बालेन युग भएर वाहवाही गरिएको भएपनि यसलाई आफूले विध्वंशको युग सुरु भएको भनेर टिप्पणी गर्ने गरेको स्मरण गराए । उनले बालेनको उदय र रास्वपाको पतन सँगसँगै हुने पनि गम्भीर टिप्पणी गरे ।
साहले अहिलेको सिस्टममा सुधार नगरिएसम्म देशले निकास नपाउने आफ्नो पार्टीको ठहर भएकोले देशमा एकपटक निर्णायक आन्दोलनको आँधीबेहरी सिर्जना गरेर जनताको शासन स्थापित गरिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले वर्तमान संविधान र शासन प्रणालीले देशलाई सही निकास नदिने र अनन्तकालसम्म अस्थिरताको भूमरीमा फसाउने कुरा संविधान जारी भएको यो एक दशकको अवधिमा पुष्टि भइसकेको दाबी गरे ।



