एमाले एमाले नभई कहिले माओवादी र कहिले कांग्रेस जस्तो बन्दा समस्या भयो : रोशन बस्नेत

हिमाल प्रेस २० वैशाख २०८३ ९:२९ | Sunday, May 3, 2026
14
SHARES
एमाले एमाले नभई कहिले माओवादी र कहिले कांग्रेस जस्तो बन्दा समस्या भयो : रोशन बस्नेत एमाले नेता रोशन बस्नेत

काठमाडौँ- नेकपा एमालेका कोशी प्रदेश सदस्य रोशन बस्नेतले निर्वाचनमा पार्टीको हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। शनिबार मीनभवनमा भएको पुनर्जागरण भेलामा बोल्दै नेता बस्नेतले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम सही हुँदा हुँदै निर्वाचनमा हार ब्यहोरेकाले त्यसको जिम्मेवार नेतृत्वले लिनुपर्ने बताएका हुन्।

‘कमजोरी नेतृत्वमा देखिएको छ। त्यसैले नेतृत्वले जिम्मेवारी लिनुपर्छ। पार्टी अध्यक्षलाई सम्मानजनक भूमिका दिई कार्यकारी जिम्मेवारी पुनर्संरचना गर्नुपर्छ,’ उनले भने। बस्नेतले पार्टीलाई पुनर्जागृत गर्नका लागि चार काम गर्नुपर्ने बताए। ‘पहिलो, केन्द्रीय कमिटी विघटन गर्नुपर्छ। दोस्रो, तदर्थ संरचना बनाएर पुनर्संरचना गर्नुपर्छ। तेस्रो, प्रदेश र जिल्ला कमिटीहरूको पनि पुनरावलोकन वा विघटन आवश्यक छ। र चौथो, जनसंगठनहरूलाई सुधार गरी नयाँ पुस्तालाई अवसर दिनुपर्छ,’ उनले भने।

स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि उत्तरदायी बनाउँदै उनीहरूको जीवनशैली, कार्यशैली र जनतासँगको सम्बन्धको समीक्षा गर्नुपर्ने उनले बताए। ‘अबको एक वर्षभित्र स्थानीय निर्वाचन आउने भएकाले पार्टीभित्र आन्तरिक शुद्धीकरण र व्यवस्थापन अनिवार्य छ। यसका लागि व्यापक छलफल आवश्यक छ। पार्टीभित्रका बैठकहरूमा खुला समीक्षा हुनुपर्छ। माथिल्लो तहका कमजोरी मात्र होइन, तल्लो तहका समस्याहरू पनि उजागर गर्नुपर्छ।’ उनले भने।

उनले पार्टी शुद्धीकरणमा विगतको अनुभवबाट पनि सिक्नुपर्ने बताए। अहिले एमाले एमालेजस्तो हुन नसकेको उनको धारणा थियो। पार्टीका संगठनहरू पनि ठेक्कामा चलेजस्तो देखिने र जनवर्गीय संगठनहरू खम्बा हुनुपर्नेमा ठेकेदार शैलीमा सञ्चालन भएको उनको आरोप छ। ‘कहिले एमाले ‘केपी ओली’ मात्र बन्यो, कहिले कांग्रेसजस्तो, कहिले माओवादीजस्तो। आफ्नै नीति, विचार र कार्यक्रमभित्र बस्न सकेन,’ उनले भने।

पार्टी आन्दोलनका बेला संघर्ष गर्नेहरू भन्दा अवसर लिनेहरू अघि देखिने प्रवृत्ति पनि देखिएकाले पनि संगठन कमजोर बनाएको उनले बताए।

प्रकाशित: २० वैशाख २०८३ ९:२९ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast