दाउन्ने सडकमा एकतर्फी ढलानको काम सकियो

हिमाल प्रेस १९ वैशाख २०८३ ६:२८ | Saturday, May 2, 2026
10
SHARES
दाउन्ने सडकमा एकतर्फी ढलानको काम सकियो

काठमाडौँ- नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको छ।

एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुने उनले बताए। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो। अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने छ।

दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको छ। ‘दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, योसँगै पुरै ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको छ,’ सूचना अधिकारी खनालले भने, ‘अबको चौध दिनपछि पूर्वी खण्डका सबै क्षेत्रमा कालोपत्र र पक्की सडकमा यात्रा गर्न सकिन्छ।’ दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो। अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ। आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ।

एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब रु १७ अर्ब लागत रहेको छ।

प्रकाशित: १९ वैशाख २०८३ ६:२८ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast