काठमाडौँ- म्यान्माको सैन्य नेतृत्वले देशभरका कैदीहरूको सजायमा ‘एक छैटौँ’ हिस्सा कटौती गर्ने निर्णय गरेसँगै अपदस्थ जनप्रिय नेत्री आङ सान सुकीको नजरबन्द अवधि छोटिने संकेत देखिएको छ।
सार्वजनिक बिदाको अवसर पारेर बिहीबार गरिएको यो घोषणाले म्यान्माको जटिल राजनीतिक वृत्तमा नयाँ बहस सुरू भएको छ।
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका सैन्य प्रमुख मिन आङ ह्लाइङको कार्यालयले सबै कैदीहरूको बाँकी सजायको केही हिस्सा मिनाहा गर्ने निर्णय गरेको हो। यद्यपि जारी गरिएको आधिकारिक विज्ञप्तिमा कुनै पनि विशिष्ट कैदीको नाम किटान गरिएको छैन।
सन् २०२१ को सैन्य ‘कू’ पछि बन्दी बनाइएकी ८० वर्षीया सुकीलाई भ्रष्टाचार, कोभिड–१९ को नियम उल्लंघन र सरकारी गोपनीया भंग गरेको आरोपमा ३३ वर्षको कैद सजाय सुनाइएको थियो।
सन् २०२३ मा केही मुद्दामा आममाफी दिइएपछि उनको सजाय २७ वर्षमा झारिएको थियो। एक छैटौँ कटौतीले उनको कैद अवधि थप केही वर्ष घट्ने अनुमान गरिएको छ।
सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टको सजाय पनि घटाउने निर्णय भएको छ, जसलाई विश्लेषकहरूले सैन्य सरकारको ‘रणनीतिक खुकुलोपन’ को रुपमा व्याख्या गरेका छन्।
म्यान्माको न्याय प्रणाली अत्यन्तै अपारदर्शी रहेकाले सुकीले हालसम्म कति सजाय भुक्तान गरेको र अब कति बाँकी छ भन्ने विषयमा अझै अन्योल कायमै छ।
लोकतन्त्रवादी निगरानी संस्थाहरूले यस कदमलाई वास्तविक राजनीतिक सुधारभन्दा पनि अन्तर्राष्ट्रिय दबाब छल्ने र सरकारको छवि सुधार्ने प्रयासको रुपमा टिप्पणी गरेका छन्।
यसैबीच सुकीको परिवारले उनको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। लामो समयदेखि बाह्य विश्व र परिवारसँगको सम्पर्कबाट विच्छेद गरिएकी सुकीलाई अझै पनि म्यान्माको लोकतन्त्रको मुख्य खम्बा मानिन्छ।
सैन्य नेतृत्वले सीमित सुधारका संकेत दिए पनि म्यान्मामा पूर्ण लोकतन्त्रको पुनःस्थापना र नागरिक शासनको भविष्य भने अझै अनिश्चित देखिएको छ।-रासस/एएफपी




