काठमाडौँ- नेपाली महावाणिज्य दूतावास सान फ्रान्सिस्कोका महावाणिज्यदूत लक्ष्मण खनालले अप्रिल २४ का दिन वायोमिङ राज्यका गभर्नर मार्क गार्डनसँग रिभर्टन सहरमा शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा महावाणिज्यदूत खनालले गत वर्ष जुलाई महिनामा सान फ्रान्सिस्कोमा वायोमिङ राज्यको समेत क्षेत्राधिकार रहेको नेपाली महावाणिज्यदूतावासको स्थापना भई सञ्चालनमा आएको विषयमा गभर्नरलाई जानकारी गराउँदै नेपाल र वायोमिङ राज्यबीच सम्भाव्य सहकार्यका क्षेत्रहरूका बारेमा छलफल गरेका थिए।
विशेष गरी कृषि, पर्यटन, उच्च शिक्षा तथा अनुसन्धान, जलवायु परिवर्तन, वातावरण तथा उच्च हिमाली क्षेत्र संरक्षणसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान र उद्यमशीलताको विकासका क्षेत्रमा हुन सक्ने सम्भाव्य आपसी सहयोग एवम् सहकार्यका बारेमा छलफल भएको थियो।

महावाणिज्यदूत खनाल २३-२४ अप्रिलसम्म सेन्ट्रल वायोमिङ कलेज (सीडब्ल्युसी), रिभर्टनमा आयोजना भएको सेन्ट्रल वायोमिङ इनोभेसन एण्ड एन्टरप्रेनरसीप कन्फ्रेन्स २०२६ मा सहभागी भएका थिए। सम्मेलनको साइडलाइनमा खनालले वायोमिङ राज्यका विधायक इभान पोसेसँग भेट गरी नेपाल र वायोमिङ राज्यबीच हुनसक्ने सहयोग एवम् सहकार्यका क्षेत्रहरुका बारेमा सामान्य छलफल गरेका थिए।

त्यस्तै सम्मेलनको पूर्वसन्धयामा महावाणिज्यदूत खनालले अप्रिल २२ मा रिभर्टनस्थित वायोमिङ कलेजका अध्यक्ष डा. ब्राड टिन्डलसँग भेटवार्ता गरेका थिए। साथै सो कलेजमा आयोजित अन्तर्क्रिया कार्यक्रममा समेत भाग लिएका थिए। अन्तरक्रियाका क्रममा खनालले नेपाल सरकारको सुशासन तथा आर्थिक विकासका प्राथमिकताहरू एवम् नेपालमा विद्यमान आर्थिक अवसर तथा सम्भावनाहरूका बारेमा प्रकाश पारेका थिए।

त्यसै गरी अप्रिल २४ तारिखका दिन अपराह्न महावाणिज्यदूत खनालले वायोमिङ राज्यको लारामी सहरस्थित वायोमिङ विश्वविद्यालयका अध्यक्ष एड सिड्लसँग उनकै कार्यकक्षमा भेट गरेका थिए। सो अवसरमा नेपालका विश्वविद्यालय र वायोमिङ विश्वविद्यालयबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ पार्दै सहकार्यका थप क्षेत्रहरू पहिचान एवम् विस्तार गर्दै लैजान सकिने विषयमा छलफल भएको थियो। साथै विभिन्न विभागका डिनहरूसँग पनि छुट्टाछुट्टै भेटघाट, छलफल तथा अन्तर्क्रिया गरेका थिए।
हाल ७० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको वायोमिङ विश्वविद्यालयको भ्रमणको अवसरमा उक्त विश्वविद्यालयसँग आवद्ध नेपालीहरूको संस्था एफएनयूडब्ल्युले अप्रिल २५ तारिखका दिन लारामीमा बसोबास गर्ने नेपाली समुदायसँग एक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।

उक्त अवसरमा नेपाली महावाणिज्यदूतावासबाट प्रदान हुने सेवा तथा नेपालको हित प्रवर्द्धनमा नेपाली डायस्पोराको भूमिकाका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो।
उपरोक्त भेटघाट तथा कार्यक्रमहरूमा सीडब्ल्यूसी एलमुनस तथा हाल सीएसयू फ्रेस्नोका प्राध्यापक डा. मोहनबहादुर डाँगी, डा. रमेश सेढाइँ, उपमहावाणिज्यदूत ऋषिराज आचार्यको समेत रहेको थियो।




