काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलका नेता बनेपछि भीष्मराज आङ्देम्बेले नेताहरूबीच भेटवार्ता बढाएका छन्। हिजो सर्वसम्मत निर्वाचित भएका उनले आज पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग भेटेका छन्। आङ्देम्बेलाई बधाई दिँदै खड्काले भनेका छन्, मेरा मित्र-प्रिय भाइ मा।भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।
उनले आङ्देम्बेले संवैधानिक परिषद्को सदस्यको रूपमा थप प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले थपेका छन्, ‘यस पटकको संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रूपमा उपस्थित भयकोले संसद्को समग्र प्रक्रियामा उहाँको भूमिका प्रमुख प्रतिपक्ष दल नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहनेछ ।’ आङ्देम्बेले आजै पार्टीका अर्का नेता शेखर कोइरालासँग पनि भेट गरेका छन्। उनलाई पार्टीभित्रका समन्वकारी नेताका रूपमा लिइएको छ। कांग्रेसमा दलको नेताको आकांक्षी धेरै भए पनि आङ्देम्बे सर्वसम्मत बने।




