गण्डकी सरकारद्वारा ७१ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

हिमाल प्रेस १५ वैशाख २०८३ ९:२६ | Tuesday, April 28, 2026
4
SHARES
गण्डकी सरकारद्वारा ७१ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

कास्की- गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् ।

स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका मेडिकल रेकर्ड निरीक्षक वुद्धिसागर अधिकारीले विसं २०७६ अघि चार जना, विसं २०७६ मा १० जना, विसं २०७७ मा ३३, विसं २०७८ मा आठ जना, विसं २०७९ मा पाँच, २०८० मा चार, विसं २०८१ मा एक जना र विसं २०८२ मा ६ जनाले सेवा लिएको जानकारी दिए ।

यो सेवा सबैभन्दा बढी लिनेमा बागलुङका ३० महिला रहेका छन् । यसैगरी म्याग्दीका १८, गोरखाका छ, मुस्ताङका पाँच, लमजुङका चार र पर्वत र मनाङका दुई दुई जना छन् । दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्धार कार्यक्रम प्रभावकारी बनेको अधिकारीले बताए । उनले पछिल्लो समय हवाई उद्धार गर्नुपर्ने अवस्था भने कम भएको बताए । “जिल्ला अस्पतालबाहेक पालिकासम्म पनि विशेषज्ञ चिकित्सक सेवा सुरु भएको छ । अस्पतालहरुको स्तरोन्नतिका कारणले समेत गाउँमै राम्रो उपचार सेवा कारण उद्धार गर्नुपर्ने घटना कम हुँदै गएको हो”, उनले भने ।

गण्डकी प्रदेश सरकारबाहेक सङ्घीय सरकारले समेत हवाई उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारले तोकिएको दुर्गम क्षेत्रबाट मात्र हवाई उद्धार सेवा प्रदान गरेपनि गण्डकी प्रदेश सरकारले भने प्रदेशको जुनसुकै स्थानबाट समेत उद्धारको प्रबन्ध गरेको छ ।

प्रकाशित: १५ वैशाख २०८३ ९:२६ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast