कायरोमा ‘नेपाल-इजिप्ट मैत्रीपूर्ण दौड’

हिमाल प्रेस १४ वैशाख २०८३ १४:२८ | Monday, April 27, 2026
6
SHARES
कायरोमा ‘नेपाल-इजिप्ट मैत्रीपूर्ण दौड’

काठमाडौँ- सगरमाथा दिवस तथा अन्तर्राष्ट्रिय आरोग्य दिवसको विशेष अवसरमा इजिप्टको राजधानी कायरोमा ५ किलोमिटर लामो ‘नेपाल-इजिप्ट मैत्रीपूर्ण दौड’ गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासले इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी देग्ला प्रोटेक्टोरेटसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो।

‘हिमालयदेखि नाइलसम्म–हरियाली भविष्यका लागि दौडौं’ भन्ने नाराका साथ सञ्चालित उक्त दौडको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल र इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालयका संरक्षित क्षेत्र प्रमुख डा. मोहम्मद युसेफले संयुक्त रूपमा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लम्सालले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा भएको पहिलो सफल आरोहणको स्मरण गर्दै सगरमाथा दिवस मानवीय दृढ संकल्प र साझेदारीको प्रतीक भएको उल्लेख गरे। उनले हालै घोषित अन्तर्राष्ट्रिय आरोग्य दिवसको महत्त्वमाथि प्रकाश पार्दै सुस्वास्थ्य केवल शारीरिक मात्र नभई मानसिक, भावनात्मक, सामाजिक र वातावरणीय कल्याणसँग जोडिएको एक समग्र अवधारणा भएको बताए।

जलवायु परिवर्तनका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको र इजिप्टमा नाइल नदीको डेल्टा क्षेत्रमा जोखिम बढ्दै गएको प्रसंग उल्लेख गर्दै राजदूत लम्सालले यी साझा चुनौतीविरुद्ध विश्वव्यापी ऐक्यबद्धता र सामूहिक प्रयासको आवश्यकता औंल्याए।

सो अवसरमा डा. युसेफले वातावरणीय सचेतना र दिगोपनको सन्देश प्रवाह गर्न आयोजना गरिएको यस कार्यक्रमको प्रशंसा गरे। दौडमा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी र नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढीको सहभागिता थियो।

प्रकाशित: १४ वैशाख २०८३ १४:२८ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast