रुकुम पश्चिम

जनार्दनको साथ छाड्दा गोपालले पाएको मौका

किरण पौडेल १४ वैशाख २०८३ १२:२७ | Monday, April 27, 2026
8
SHARES
जनार्दनको साथ छाड्दा गोपालले पाएको मौका सांसद गोपाल शर्मा

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गोपाल शर्मासामु अनेक चुनौती थिए। उनी लामो समयसम्म एकै संगठनमा रहेका नेताको साथमा थिएनन्। बदलिँदो राजनीतिक परिस्थितिमा उनलाई जनतासामु प्रस्तुत हुन सहज थिएन। यस्ता चुनौती पार लगाउने हिम्मत गरेका उनका प्रतिस्पर्धी थिए- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्मा। कुनै बेला जनार्दनका ‘चुनावी कमान्डर’ रहेका गोपाल जनार्दनकै विरुद्धमा मैदानमा उत्रिए।

यसअघि जनार्दनले रुकुम पश्चिमबाट चुनाव जित्दा उनको अघिल्लो पंक्तिमा हुन्थे, गोपाल। यिनै गोपालले जनार्दनलाई चार पटक सांसद/सभासद् बनाउन भूमिका खेले। राजनीतिक घटनाक्रममा जनार्दनसँग बाटो बदलियो। उनीहरू भिन्नभिन्न दलमा लागे। तिनै जनार्दनलाई हराएर गोपाल पहिलोपटक संघीय सांसद बन्न सफल भए।

जनार्दन-गोपाल सम्बन्ध

जनार्दन-गोपालको पारिवारिक सम्बन्ध छैन। लामो समयदेखि राजनीतिक थलो एउटै बन्यो। जनार्दनलाई गोपालले ‘नेता’ माने र कमान्डर बने। ‘जनार्दनजीले लडेका सबै चुनावको कमान्डर मै हुँ’, गोपाल सम्झन्छन्। जनार्दनले २०६४, २०७०, २०७४ र र २०७९ मा निर्वाचित भएका थिए।

‘अघिल्ला चुनावमा म उहाँको कमान्ड गर्दिन्थँे। यसपटक अलि भिन्न परिवेश बन्यो’, उनी भन्छन्। यसपटक जनार्दन त्यही क्षेत्रबाट तेस्रो भए। तत्कालीन माओवादीभित्र पनि जनार्दन-प्रचण्डबीच तीव्र असन्तुष्टि थियो। माओवादी छाडेर प्रचण्डले नेकपा बनाए, जनार्दनले अन्तैतिर लागे।

‘नयाँ पार्टी गठन हुनुभन्दा एक महिनाअघि कुरा भएको थियो। म उता जान्नँ भनिदिए,’ गोपाल भन्छन्, ‘पहिले सँगै भइयो भन्दैमा सँगै जाने कुरा भएन। उहाँले मलाई लैजाने प्रयत्न गर्नुभयो। मैले उहाँलाई अनुरोध पनि गरेँ। तर सकिएन।’

गोपालले यसपटक पनि कमान्डर बन्ने आश्वासन दिएका थिए। ‘म चुनाव लड्दिनँ, तपाईँ नै लड्नुहोस्। म कमान्डर बन्छु भनेँ तर मान्नुभएन’, गोपाल भन्छन्। गोपालले जनार्दनलाई सँगै लैजान अनेक प्रयत्न गरे तर सकेनन्।

गोपाल २०७४ सालमा कर्णाली प्रदेशसभामा चुनाव जितेर अर्थमन्त्रीसम्म बनेका नेता थिए। प्रतिनिधिसभामा यो पहिलो परीक्षा थियो। त्यसमाथि तिनै जनार्दनसँग चुनाव लड्नुप¥यो। विगतमा सुमधुर रहेको उनीहरूको सम्बन्ध चुनावमा सौहार्द बनेन। त्यसमा सफल गोपाल भए।

जनार्दनले पार्टी छाड्दा पाएको अवसर

गोपाल वामपन्थी राजनीतिमा चिनिएका नेता हुन्। उनले २०४६ सालदेखि राजनीतिमा आबद्ध छन्। रुकुमको चौरजहारीस्थित शीतल माध्यमिक विद्यालयमा अनेरास्ववियुको सह-एकाइ कमिटीको सहसचिवबाट विद्यार्थी राजनीतिमा पाइला अघि बढाए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ५ लाहरेसिमलमा ४८ वर्षअघि जन्मिएका शर्माले २०४८ सालमा सोही विद्यालयमा अनेरास्ववियुको एकाइ अध्यक्ष हुँदै २०५१ मा रुकुम जिल्ला कमिटी सदस्य, २०५३ मा जिल्ला अध्यक्ष र २०५४ मा केन्द्रीय सदस्य एवम् राप्ती अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरे।

‘मलाई त्यतिबेला पश्चिमतिर खटाइएको थियो। पछि मात्रै रुकुमको जिम्मेवारी पाएँ’, उनी भन्छन्। उनी २२ वर्षको हुँदा २०५६ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष एवम् तत्कालीन नेकपा माओवादीको रुकुम जिल्ला कमिटी सदस्य र एरिया इन्चार्जसमेत भएका थिए।

२०५७ मा विशेष उपक्षेत्रीय ब्युरोको सदस्य र त्यसको केही समयपछि भेरी-कर्णाली क्षेत्रीय ब्युरोमा स्थानान्तण, २०५८ देखि २०६० सम्म भेरी-कर्णाली क्षेत्रीय ब्युरोअन्तर्गत विशेष जिल्ला इन्चार्ज र गण्डक क्षेत्रको पनि जिम्मेवारी, २०६० देखि २०६२ सम्म भेरी-कर्णाली क्षेत्रीय ब्युरोअन्तर्गत बाँके र बर्दिया जिल्लाको इन्चार्ज र २०६२ माघदेखि आधार इलाका विशेष ब्युरोमा स्थानान्तरण भई २०६४ सम्म रुकुम जिल्लाको सेक्रेटरी एवम् २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन परिचालन समितिको प्रमुख भएर खटिएको उनको अनुभव छ।

शर्मा २०६५ देखि २०६६ सालसम्म तत्कालीन एकीकृत नेकपा माओवादीको जिल्ला इन्चार्ज, २०६६ देखी २०६९ सम्म मगरात राज्य कार्यालय सचिव, २०७१ देखि २०७५ सम्म जिल्ला अध्यक्ष हुँदै २०७१ मा एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भए।

२०७३ मा उनी नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्य र २०७५ मा एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोसमेत रुकुम पश्चिमको जिल्ला अध्यक्ष भए। यही बेला उनलाई नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी पनि प्राप्त भएको थियो तर उनले आफू दोहोरो जिम्मेवारीमा नरहने भन्दै उक्त जिम्मेवारी अरू सहकर्मीका लागि सुम्पिए।

२०७७ सालमा नेकपा विभाजित भई माओवादी केन्द्र साबिककै अवस्थामा पुनर्गठन भएपछि २०७८ सम्म नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिको संयोजक भए। अनि २०७९ देखि हालसम्म उनी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। यसपटक जनार्दन नहुँदा उनले अवसर पाए। ‘यसपटक पनि जनार्दनलाई छाड्ने थिएँ तर उहाँ नै हामीलाई छाडेर जानुभयो’, उनी सम्झन्छन्।
रुकुमको आवाज बोल्ने, रचनात्मक प्रतिपक्षी बन्ने

उनी प्रतिपक्षी सांसद हुन्। ‘रास्वपा ठूलै किन नहोस् तर रुकुमको प्रतिनिधि त म हो नि,’ गोपाल भन्छन्, ‘पहिलेजस्तो सरकारले आफ्ना मात्रै कुरा भन्ने काम नगरोस् हाम्रा पनि सुनोस्।’

रुकुमका दुवै जिल्लामा नेकपाले चुनाव जित्यो। रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रुकुम पश्चिममा गोपालले जिते। गोपाल रुकुमको पीडा सदनमा सुनाउनेछन्। ‘मलाई जनता आस गरेर यहाँ पठाएका हुन्। हाम्रो प्रतिनिधित्व सदनमा खोजिन्छ।’ उनी भन्छन्। नेकपाका उम्मेदवार गोपालले २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मत ल्याएर दोस्रो भए। १४ हजार ३४६ मत प्राप्त गरेका प्रलोपा उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा खुम्चिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast