काठमाडौँ- दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने लिग दशरथ रंगशालास्थित कभर्डहलमा दश दिनसम्म सञ्चालन हुनेछ । लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। एनभीएले सार्वजनिक गरेको खेल तालिकाअनुसार लिग अन्तर्गत पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई खेल हुनेछन्।
महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच उद्घाटन खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब खेल्नेछन् । पुरुषतर्फ मध्याह्न १२ बजे हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लब तथा अपराह्न ४ बजे त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनभीए लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा हुनेछन् । लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछन् । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् ।
लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब ९लुम्बिनी०, रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा दुवैतर्फ विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै, उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०–३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नवौँ संस्करणको एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो ।



