९.९७ प्रतिशतले घट्यो विद्युतीय सवारी आयात

हिमाल प्रेस ८ वैशाख २०८३ १६:०७ | Tuesday, April 21, 2026
28
SHARES
९.९७ प्रतिशतले घट्यो विद्युतीय सवारी आयात

काठमाडौँ-  आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात ९.९७ प्रतिशतले घटेको छ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात हजार ९६७ युनिट रहेको यात्रुवाहक सवारीसाधनतर्फ यस वर्ष सात हजार १७३ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय यात्रुवाहक कार देशमा भित्रिएका छन्। यस्ता आयातबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

विश्वका धेरै देशहरूमा जस्तै नेपालमा पनि चीन विद्युतीय सवारीको प्रमुख आपूर्तिकर्ता हो। बीवाईडी, डिपल, लिपमोटर, ओमोदा/जेको र एमजी जस्ता चिनियाँ ब्रान्डका गाडीहरू नेपालमा अत्यन्त लोकप्रिय छन्। त्यसैगरी टाटा र महिन्द्रा जस्ता भारतीय उत्पादकका विद्युतीय सवारी पनि नेपालमा आयात हुने गरेका छन्।

सरकारले विद्युतीय सवारीमा अधिकतम मोटर क्षमताका आधारमा भन्सार शुल्क लगाउने व्यवस्था गरेको छ। ५० किलोवाटसम्म क्षमताका सवारीमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ। ५१-१०० किलोवाट क्षमताका सवारीमा २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्छ। १०१-२०० किलोवाट क्षमताका सवारीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ भने २०१-३०० किलोवाट क्षमताका सवारीमा ६० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्छ।

तीन सय किलोवाटभन्दा माथि क्षमताका विद्युतीय सवारीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ।

भन्सार विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्म क्षमताका दुई हजार ५०६ युनिट सवारी आयात भएका छन्। आयातका आधारमा हेर्दा ५१-१०० किलोवाट क्षमताको खण्ड नेपाली उपभोक्तामाझ सबैभन्दा लोकप्रिय देखिन्छ। यस्ता सवारीसाधन चार हजार ८३ युनिट आयात भएका छन्। त्यसैगरी १०१-२०० किलोवाट क्षमताका ५७४ युनिट र २०१-३०० किलोवाटभन्दा माथिका ८ युनिट सवारी नौ महिनामा आयात भएका छन्।

समीक्षा अवधिमा ५० किलोवाटभन्दा कम क्षमताका दुईवटा असेम्बल नगरिएका विद्युतीय सवारी पनि आयात भएका छन्।

चालु आर्थिक वर्षको सुरुदेखि विद्युतीय सवारी आयात घट्दो क्रममा रहेको छ। भन्सार शुल्क बढ्ने आशंकामा व्यापारीहरूले पहिले नै ठूलो संख्यामा सवारी आयात गरेका थिए। चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा विद्युतीय सवारी आयात ७.४२ प्रतिशतले घटेर पाँच हजार ७३ युनिटमा सीमित भएको थियो।

प्रकाशित: ८ वैशाख २०८३ १६:०७ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast