विद्यार्थी संगठनहरू व्यवस्थित भएनन् : रामकुमारी झाँक्री

हिमाल प्रेस ७ वैशाख २०८३ १५:३३ | Monday, April 20, 2026
8
SHARES
विद्यार्थी संगठनहरू व्यवस्थित भएनन् : रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेता तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान राजनीतिक अवस्था, विद्यार्थी आन्दोलन र दलहरूको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएकी छन्।

आइतबार काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बोल्दै उनले दलहरूको कमजोर कार्यसम्पादनकै कारण जनताबाट दण्डस्वरूप मतपरिणाम आएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘अहिले जेसकै कुरा गरे पनि सुधारिएको भनिएको कांग्रेस १५ सिटमा सीमित भएको छ, नसुधारिएको एमाले ९ सिटमा झरेको छ र ठूलो दाबी गरिएको नेकपा ७ सिटमा पुगेको छ। यो हाम्रो नालायकीका कारण जनताले दिएको सन्देश हो भन्ने हामीले बुझ्न सकेका छैनौँ।’

झाँक्रीले राज्य संरचना र राजनीतिक संगठनहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वीकार गर्दै त्यसको प्रत्यक्ष असर अहिले देखिएको बताइन्। ‘राज्य संरचना ठीकसँग चलेन, विद्यार्थी संगठनहरू पनि व्यवस्थित भएनन्। हाम्रा कमजोरीकै परिणाम आजको अवस्था हो। यही कारणले हामी आफ्नै पार्टीबारे निर्भीक रूपमा बोल्न नसक्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन्।

विद्यार्थी संगठनमाथि कानुनी प्रतिबन्ध सम्भव नरहेको उल्लेख गर्दै उनले व्यवहारमा भने अभिव्यक्ति स्वतन्त्रता संकुचित भइरहेको दाबी गरिन्। ‘संविधानले संगठन र विचारमाथि प्रतिबन्ध लगाउने व्यवस्था गर्दैन। तर व्यवहारमा यस्तो अवस्था सिर्जना भइरहेको छ कि हामी आफ्ना धारणा राख्न सक्दैनौँ, घटनाहरूमा बोल्न डराउँछौँ,’ उनले भनिन्।

झाँक्रीले अहिलेको अवस्था विचारधारात्मक संकटको रूपमा व्याख्या गरिन्। ‘हामी वर्गीय हित, सामुदायिक हित र आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट गर्न नसक्ने अवस्थामा पुगेका छौँ। विभिन्न स्वार्थ र प्रभावबीच अलमलिएको अवस्था छ,’ उनले भनिन्।

उनका अनुसार विद्यार्थी आन्दोलनले विगतमा जनजीवनसँग जोडिएका मुद्दा उठाए पनि अहिले त्यस्तो सक्रियता कमजोर भएको छ। ‘महँगी, यातायात सहुलियत, आधारभूत आवश्यकताका विषयमा आवाज उठाउने परम्परा कमजोर भएको देखिन्छ,’ उनले भनिन्।

आन्दोलन तत्काल सम्भव नहुने बताउँदै उनले तयारी र धैर्यको आवश्यकता औंल्याइन्। ‘आन्दोलन एकैचोटि हुँदैन। यसको लागि लामो तयारी चाहिन्छ। ०६२/६३ को आन्दोलन पनि त्यत्तिकै सम्भव भएको होइन,’ उनले भनिन्।

संघीयताको अभ्यासप्रति पनि उनले असन्तुष्टि जनाइन्। ‘संघीयताको नाममा बनेका संरचनाहरू प्रभावकारी हुन सकेनन्। अधिकारको कुरा गर्नेहरू अहिले मौन छन्, जसले जनतामा वितृष्णा बढाएको छ,’ उनले भनिन्।

झाँक्रीले वर्तमान अवस्थालाई आन्तरिक कमजोरीको परिणाम भएको बताउँदै आत्मसमीक्षा आवश्यक रहेकोमा जोड दिइन्। ‘यो अवस्था बाह्य कारणले मात्र आएको होइन। हाम्रो आफ्नै कमजोरीको परिणाम हो। अब हामीले आत्मसमीक्षा गरेर सुधारको बाटोमा जानुपर्छ,’ उनले भनिन्।

प्रकाशित: ७ वैशाख २०८३ १५:३३ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast