संविधान संशोधन : कांग्रेसको विज्ञ समितिले पायो पूर्णता

हिमाल प्रेस ६ वैशाख २०८३ १३:३२ | Sunday, April 19, 2026
18
SHARES
संविधान संशोधन : कांग्रेसको विज्ञ समितिले पायो पूर्णता पुष्पा भुसाल।

काठमाडौँ– नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी विषयमा अध्ययन गरी आवश्यक रायसुझाव प्रस्तुत गर्न विज्ञ सम्मिलित समितिले पूर्णता पाएको छ। पार्टी केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकको निर्णयअनुसार उपसभापति पुष्पा भुसालको संयोजकत्वमा ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको थियो।

केन्द्रीय कार्यसमितिको निर्णय र निर्वाचन प्रतिबद्धताअनुसार संविधान संशोधनका विषय पहिचान गरी स्पष्ट धारणा निर्माण गर्न तथा आवश्यक सुझाव दिन उक्त समितिलाई कार्यादेशसहित पूर्णता दिइएको कांग्रेसले जनाएको छ।

पार्टीले संविधानका आधारभूत मूल्यमान्यता नागरिक सर्वोच्चता, गणतन्त्र, संघीय शासन प्रणाली, बहुदलीय संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, मानवअधिकार र समानुपातिक समावेशी सिद्धान्तलाई अक्षुण्ण राख्दै आवश्यक संशोधन गरिने स्पष्ट पारेको छ।

समितिले के गर्नेछ?

१. संविधान निर्माणका क्रममा बिभिन्न समुदाय, समुह, क्षेत्रबाट पहिचान लगायतका लागि भएका आन्दोलन, त्यस क्रममा सरकारले गरेका सम्झौता, विभिन्न समुह र अभियानले संविधान संशोधनका सन्दर्भमा राखेका माग र धारणाको अध्ययन विष्लेषण गर्ने।

२. संविधान निर्माण पश्चात कार्यान्वयनमा देखिएका समस्याको अध्ययन विष्लेषण गर्ने।संघीयता कार्यान्वयन र तहगत सरकार स‌चालनमा देखिएका चुनौती लगायतका विषयमा तहगत सरकार, विशेषज्ञ र सरोकारवालासंग संवाद गर्ने।

३. २०८२ भाद्र २३ र २४ मा जेनजी पुस्ताको आव्ह्वानमा भएको विद्रोहको भावना अनुसार सुशासन र चुस्त सेवा प्रवाह तथा प्रतिनिधित्व लगायतका विषयमा उठेका माग र सम्झौतामा उल्लेखित विषयलाई अध्ययन गर्ने।

४. २०८२ फागुन २१ को निर्वाचनमा पार्टीले प्रतिज्ञापत्रमा उल्लेख गरेका संविधान संशोधनसँग सम्बन्धित विषयहरू अध्ययन गर्ने।

५. लोकतन्त्रका मूल्य-मान्यता, नागरिक अधिकार तथा समानुपातिक समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै संविधान जारी भएको एक दशकको अनुभवका आधारमा कार्यान्वयनको अवस्था र उपलब्धिलाई समीक्षा गरी सुझाव सहितको प्रतिवेदन उपलब्ध गराउने।

समितिले दिएको सुझावका आधारमा पार्टीले संविधान संशोधनबारे आफ्नो धारणा निर्माण गर्ने कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिनेछ।

सरकारले संविधान संशोधन बहसपत्रका लागि गठन गरी यस विषयलाई प्राथमिकतामा दिएकोमा कांग्रेसले स्वागत गर्दै पत्र पठाएसकेको छ। सरकारको स्पष्ट धारणा आएपछि पार्टीले आफ्नो धारणासहित सरकारसँग सहकार्य गर्नेछ। पार्टीका तर्फबाट गरिने यस अध्ययनले सरकारसँग सहकार्य गर्न र संविधान संशोधनजस्तो यस संवेदनशील विषयमा साझा राष्ट्रिय धारणा बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति

संयोजक – नेपाली कांग्रेस उपसभापति पुष्पा भुसाल
सदस्य – वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
सदस्य – वरिष्ठ अधिवक्ता हरिहर दाहाल
सदस्य – वरिष्ठ अधिवक्ता प्रेमबहादुर खडका
सदस्य – वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने
सदस्य – वरिष्ठ अधिविक्ता शेरबहादुर केसी
सदस्य – वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
सदस्य – वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
सदस्य – वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी
सदस्य – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
सदस्य – वरिष्ठ अधिवक्ता सीताराम केसी
सदस्य – वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत
सदस्य – अधिवक्ता रनबहादुर थेवे
सदस्य – अधिवक्ता शर्मिला श्रेष्ठ
सदस्य – अधिवक्ता झलमाया विक
सदस्य सचिव -अधिवक्ता राजु कटुवाल

प्रकाशित: ६ वैशाख २०८३ १३:३२ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast