काठमाडौँ- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ नेतृत्व स्थापित गर्ने उद्देश्यसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकै मोर्चामा उभिएका छन्। लामो समय ओलीका निकट मानिएका दुई नेताको यो एकताले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको बहसलाई तीव्र बनाएको छ। यद्यपि यसको समय र उद्देश्यबारे प्रश्न उठ्न थालेका छन्।
फागुन २१ को निर्वाचनको हारपछि पार्टी यथास्थितिमा चल्न नसक्ने भन्दै उनीहरूले मोर्चा बनाएका हुन्। नेताहरूका अनुसार शंकर-विष्णुले पुस्तान्तरण/रूपान्तरणको नारा लिएर मोर्चा बनाएका छन्। अध्यक्ष ओलीलाई हटाएर आफूले नेतृत्व लिने गरी मोर्चाबन्दी बनाएको नेताहरू सुनाउँछन्। उनीहरूको मोर्चाबन्दीलाई ‘समय घर्किसकेपछि’ को एकता भन्दै आलोचना भइरहेको छ।
यसअघि ओलीको ‘दाहिने हात’ मानिने दुवै नेताको एकता सकारात्मक भए पनि दोस्रो पुस्ताकै कारण ओलीले एमालेलाई कमजोर बनाएको बुझाइ छ। पोखरेल ओलीका अति निकटस्थ नेता मानिन्छन्। ओलीकै कमान्डमा पार्टी सञ्चालन हुन्थ्यो। पौडेल पनि ओलीका निकटस्थ मानिन्थे। यसअघिसम्म एमालेमा शंकर-विष्णु गुट थियो। उनीहरू दुवै एकअर्काका प्रतिस्पर्धी मानिन्थे।
निर्वाचनमा समेत एकले अर्कालाई अन्तर्घात गरेको आरोप लाग्थ्यो। लुम्बिनी प्रदेश गृह क्षेत्र भएका दुवै नेता ओलीका निकटस्थ तर एकअर्काका प्रतिस्पर्धी थिए। अहिले उनीहरूको एकता अघि बढेको छ। दुवै नेता ओलीविरुद्ध अघि बढ्नुलाई कतिपयले अनौठो मानेका छन्।
‘रंगमञ्च नै उठेपछिको एकता कसरी अघि बढ्ला र के अर्थ रहला र?’ एमाले नेत्री उषाकिरण तिम्सेना भन्छिन्, ‘यो धेरै ढिला भइसक्यो। समयमै सोच्नुपर्थ्यो।’ यसअघि पनि एमालेमा ओलीलाई नेता छाड्न बारम्बार दबाब दिइएको थियो। तर शंकर-विष्णुकै कारण ओलीले सत्ता छाड्न नचाहेको नेताहरूको दाबी छ।
यिनै दुई नेताले ओलीलाई बोक्दा इतरपक्ष कमजोर बन्यो। ११ औँ महाधिवेशनमा पनि शंकर-विष्णुको गठबन्धनका कारण ओली तेस्रो पटक पार्टी अध्यक्ष बनेका थिए। उनको तेस्रो कार्यकालको थालनी पार्टीका लागि सुखद रहेन। महाधिवेशनपछि भएको प्रतिनिधिसभा सदस्य चुनावमा एमालेले इतिहासमै कमजोर नतिजा ल्यायो।
नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परे भने दोस्रो तहका नेताहरू पनि ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगे। ‘हामीले बारम्बार भनेका थियौँ तर अब भने नेताहरूको चेत खुलेजस्तो लाग्यो’, एमाले नेता कर्ण थापा भन्छन्।
ओलीलाई शंकर-विष्णुले लामो समय साथ दिए। उनीहरूको भूमिका २०७४ को वाम एकतापछि झनै बढी देखिएको थियो। एमालेका पूर्वनेता एवं नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार ओली एमालेको नवौँ महाधिवेशन (२०७१) मा निर्वाचित भएपछि विष्णु-शंकरको वर्चस्व कायम भएको थियो। ‘नेकपाकालमा त विष्णु महासचिव भए। शंकर पनि ओली प्रधानमन्त्री बन्दा उनकै सचिवालयको अवैतानिक रहे’, अर्याल भन्छन्। त्यसपछि एमालेमा भएगरेका सबै घटनामा ओलीसँग यी दुई नेता मिसिएको अर्याल बताउँछन्।
‘एमाले सक्नमा जति ओली दोषी छन्, शंकर-विष्णु त्यो भन्दा बढी दोषी छन्’, अर्याल भन्छन्। त्यसो त, यसअघिका सबै घटनामा ओलीसँग उनीहरू दुवै साथमा थिए। दसौँ महाधिवेशन (२०७८) मा पनि शंकर-विष्णु ओलीलाई नै अध्यक्ष बनाउन सक्रिय भए। उनीहरू दुवै महासचिवका आकांक्षी थिए। ओलीले शंकरलाई महासचिव थमाएर विष्णुलाई उपाध्यक्ष बनाए। त्यसपछि एमालेमा दुई नेताको गुटगत झगडा बन्यो। उनीहरूको गुटगत झगडाले एमालेमा नेताहरू किनारा लागेको नेताहरू सुनाउँछन्।
‘ओलीको कोटरीमा बसेर शंकर-विष्णुले धेरै नेतालाई प्रभावमा पारे। उनीहरूले धेरै नेतालाई धेरै नेतालाई किनारा लगाइदिए’, अर्यालले भने। जेनजी आन्दोलनका बेला विष्णु अर्थमन्त्री थिए। नेताहरूका अनुसार पार्टीको काम शंकरले चलाउँथे। पार्टी बैठकमा समेत शंकरकै बोलवाला हुन्थ्यो। ११ औँ महाधिवेशन (२०८० मंसिर २७ देखि २९) मा पनि विष्णु-शंकरले नै ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेताहरू बताउँछन्।
महाधिवेशनको केही समयअघि विष्णुले ओलीलाई समर्थन गर्ने निर्णय लिएका थिए। त्यसबेला एमालेमा ओली र ईश्वर पोखरेल ध्रुव थिए। पोखरेललाई पौडेलले साथ दिने आश गरिए पनि ओलीतिरै फर्किए। ‘विष्णुको टिम ओलीलाई समर्थन गर्न पुग्दो ओली सर्वाधिक मत ल्याएर निर्वाचित भए,’ एमालेका एक नेता भन्छन्, ‘बाहिर रहँदा कमजोर बनिने भएकाले पौडेल ओलीकै टिममा परेर चुनिन चाहनुभयो।’ महाधिवेशनपछि चुनावमा गएको एमाले २५ सिटमा खुम्चियो। पराजयपछि एमाले रूपान्तरणका विष्णु लागेका थिए।
एक नेताका अनुसार दुईमध्ये एकजना अध्यक्ष र अर्का वरिष्ठ नेता हुने सहमति भएको छ। महासचिव पनि वरिष्ठ नेता हुनेबाट हुने जनाइएको छ। विष्णु निकट मानिने नेता खिमलाल भट्टराईले भने भाबी नेतृत्वबारे किटान नभएको बताउँछन्। उनले भने, ‘हामी पुस्तान्तरण/रूपान्तरणका पक्षमा उभिएका छौँ। पार्टी नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने हो। नेतृत्वबारे निक्र्योल भएको छैन।’ भट्टराईका अनुसार ओली हटाउनका लागि नभई नयाँ ध्रुवबाट पार्टी निर्माण गर्न लागिएको हो।
एमाले मुख्यालयमा विशेष महाधिवेशन भन्दै हस्ताक्षर अभियान पनि चलिरहेको छ। अभियान चलाइरहेका अखिलका उपमहासचिव कमल जोशीका अनुसार अब विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन्छ।




