काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा सांसदहरुले निर्वाचन क्षेत्रमा देखिएका समस्याका साथै सरकारले तत्काल गर्नुपर्ने काममा बारेमा सुझाव दिएका थिए। साथै उनीहरुले संसदमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद नगर्न समेत आग्रह गरेका थिए।
छलफलपछि एमाले सांसद पदमा अर्यालले आफ्नो समूदायका समस्या र विभिन्न विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको उल्लेख गरिन्। मुलुकको नीति तथा कार्यक्रम, लामो समयदेखि अवरुद्ध भएका योजनाहरुलाई अघि बढाउने लगायतका विषयमा समेत सुझाव दिइएको उनले बताइन्।
जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छलफल गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।




