प्रिमियरमा ‘पहाड’ ले कस्तो पायो प्रतिक्रिया?

हिमाल प्रेस ३० चैत २०८२ १४:०२ | Monday, April 13, 2026
10
SHARES
प्रिमियरमा ‘पहाड’ ले कस्तो पायो प्रतिक्रिया?

काठमाडौँ- नयाँ वर्ष लक्षित वैशाख १ अर्थात् भाेलिदेखि प्रदर्शन हुने फिल्म ‘पहाड’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ।

प्रिमियरमा पहिलो दर्शक बनेका सेलिब्रेटीहरूले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा गरेका छन्।

निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्ममा युवा जनशक्ति विदेश पलायन भएसँगै खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ।

फिल्म हेरेपछि निर्देशक तथा कलाकार नीर शाहले नेपाली मौलिक फिल्म हेर्न आएजस्तो भएको को प्रतिक्रिया दिए।

‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ। तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ। फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, उनले भने।

अभिनेता भुवन केसीले फिल्म स-परिवार हेर्न मिल्ने फ्यामिली प्याकेजजस्तो बनेको प्रतिक्रिया दिए। ‘फिल्म निकै राम्रो बनेको छ। फिल्म हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ। यो फिल्मले एउटा कम्प्लिट प्याकेज बनेको छ’, उनले भने।

अभिनेता जीतु नेपालले फिल्म हेर्दा भावुक बनेको बताए। ‘फिल्म हेर्दा खुसी र भावुक भएको पत्तै नपाइने रहेछ। तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई फिल्ममा देखाउनुभएको छ। फिल्म निकै राम्रो बनेको छ।’ फिल्मकी नव कलाकार पञ्चमीको प्रशंसा गर्दै उनले थपे, ‘म सानै हुँदा देखेको पञ्चमी हिरोइन बनेकी छिन्, उनले राम्रो काम गरेकी छिन्। पहाड साच्चै चट्टान नै बनेको छ।’,

निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले फिल्मको प्रसंशा गरेका छन्। उनीहरूले फिल्मले नेपालको वास्तविकता दर्साएको प्रतिक्रिया दिए। निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए ।

उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ। यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो। पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु।’

फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेले अभिनय गरेका छन्।

निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी यही फिल्ममार्फत डेब्यु गरेकी छन्।

प्रकाशित: ३० चैत २०८२ १४:०२ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast