यसरी भइरहेको छ एसईईको उत्तरपुस्तिका परीक्षण

रमेश दवाडी २४ चैत २०८२ १७:२८ | Tuesday, April 7, 2026
122
SHARES
यसरी भइरहेको छ एसईईको उत्तरपुस्तिका परीक्षण

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित गर्न यसपटकदेखि सम्बन्धित विषयको परीक्षा सकिनेबित्तिकै उत्तरपुस्तिका परीक्षण गर्न थालिएको छ। उत्तरपुस्तिका परीक्षण परीक्षा दिएकै केन्द्रमा त्यहीँ पढाउने शिक्षकले गरिरहेका छन्।

सरकारी अधिकारीहरू यसपालिदेखि उत्तरपुस्तिका परीक्षण कार्यसमेत दिएर शिक्षक र केन्द्राध्यक्षलाई थप जिम्मेवार बनाइएको दाबी गर्छन्। विगतमा परीक्षा सकिएको झन्डै एक महिनापछि जिल्ला शिक्षा समन्वय केन्द्रले तोकेको ठाउँबाट मात्रै उत्तरपुस्तिका परीक्षण गरिन्थ्यो।

उनीहरूका अनुसार छिटो नतिजा प्रकाशित गर्न केन्द्रमा तत्कालै उत्तर पुस्तिका परीक्षणको व्यवस्था गरिएको हो। यद्यपि नजिकैका विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरू प्रलोभनमा पर्न सक्ने शंका बढेको छ। यसबाट समग्र नतिजामा पनि प्रभाव पर्न सक्नेछ।

‘कुन विषयको उत्तरपुस्तिका परीक्षण कुन शिक्षकले गरिरहेको छ भन्ने जानकारी अभिभावकसम्म पुग्ने अवस्था छ। निजी स्कुलले शिक्षकहरूलाई प्रभावित नपार्लान् भन्न सकिन्न’, ललितपुरको एक विद्यालयमा उत्तरपुस्तिका परीक्षणमा सहभागी एक शिक्षकले भने।

राष्ट्रिय परीक्षा बोर्डले लागू गरेको नयाँ व्यवस्थाअनुसार उत्तरपुस्तिका ढुवानी नगरी केन्द्रमै परीक्षण गर्न व्यवस्था गरेको हो। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा केन्द्रको सुरक्षाका लागि गृह मन्त्रालयसँग समन्वय गरी परीक्षणस्थलमा प्रहरी र सीसीटीभी जडान गरिएको छ।

दुर्गम क्षेत्रका केही केन्द्रमा भने यस्तो सुविधा नभएको उनले बताए। अधिकारीले शिक्षकहरूको इमानदारीमाथि विश्वास व्यक्त गर्दै कुनै प्रलोभन वा प्रभावमा परेको गुनासो आए सम्बन्धित शिक्षक जिम्मेवार हुने बताए। ‘उत्तरपुस्तिका परीक्षणमा कुनै गुनासो आए त्यसको जिम्मेवारी सम्बन्धित शिक्षकले नै लिनुपर्छ’, उनले भने।

काठमाडौँको महाराजगन्जस्थित बाँसबारी माध्यमिक विद्यालय केन्द्राध्यक्ष नारायणी तिमिल्सिनाले केन्द्रमै परीक्षण गर्दा सहज भइरहेको बताइन्। ‘उत्तरपुस्तिका अन्यत्र ढुवानी गर्नुपर्ने झन्झट हटेको छ, जहाँ परीक्षा भयो त्यहीँ जाँच गर्न पाउँदा काम सहज भएको छ,’ उनले भनिन्।

उनले विषयगत शिक्षक अभाव र व्यवस्थापनका चुनौतीहरू भने अझै रहेको जानकारी दिइन्। ‘केही शिक्षक व्यक्तिगत कारणले अनुपस्थित हुँदा समयमै परीक्षण सक्न समस्या देखिएको छ’, उनले भनिन्।

तिमिल्सिनाका अनुसार निष्पक्षता कायम राख्न अन्य विद्यालयका शिक्षकलाई समेत संलग्न गराइएको छ। ‘सानो गल्तीले पनि केन्द्राध्यक्षमाथि जिम्मेवारी आउँछ, त्यसैले पूर्ण सतर्कता अपनाइएको छ,’ उनले भनिन्।

उनले सरकारले ल्याएको छिटो नतिजा प्रकाशन योजना सकारात्मक भए पनि आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिइन्।

परीक्षा नियन्त्रक अधिकारीले देशभरका एक हजार नौ सय ६६ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। ‘भौगोलिक विकटताका कारण एकाध केन्द्रबाहेक अधिकांश स्थानमा परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण भइरहेको छ,’ उनले भने। परीक्षामा पाँच लाख १२ हजार चार सय २१ विद्यार्थी सहभागी छन्।

उत्तरपुस्तिका परीक्षणमा विगतमा प्रयोग हुने कोडिङ-डिकोडिङ प्रणाली हटाइएको अधिकारीले बताए। कुनै परीक्षा केन्द्रमा शिक्षक अपुग भएमा सम्बन्धित केन्द्राध्यक्षलाई नै शिक्षकको व्यवस्था गरेर उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी दिइएको छ।

‘शिक्षकहरूले नै आफ्नो जिम्मेवारीबोध गरेर उत्तरपुस्तिका परीक्षण गरिरहेका छन्’, अधिकारीले भने। उनका अनुसार परीक्षण कार्य निरन्तर अघि बढिरहेको छ। एसईईअन्तर्गत मंगलबारसम्म पाँच विषयको परीक्षा सकिएको छ। ‘पाँच विषयको परीक्षा सकिँदा तीन विषयसम्मका प्राप्तांक विवरण बुधबारसम्म आइपुग्नेछन्। त्यसपछि प्राप्तांक विवरण इन्ट्री प्रक्रिया सुरु गरिनेछ’, अधिकारीले भने।

परीक्षा बोर्डले बनाएको निर्देशिकाअनुसार परीक्षण तथा सम्परीक्षण प्रक्रिया सञ्चालन भइरहेको अधिकारीले बताए। निर्देशिका उल्लंघन गरेर उत्तरपुस्तिका परीक्षण गरेमा कारबाहीको व्यवस्था छ।

अघिल्ला वर्षमा करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरे पनि यस वर्ष एक महिनाभित्रै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको अधिकारीले बताए।

शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख डा. सन्तमणि आचार्यका अनुसार १३५ मध्ये १३४ परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ। एउटा केन्द्र भने डिल्लीबजार कारागारस्थित विद्यालयमा परीक्षण गरिएको उनले बताए।

एउटा विषयको उत्तरपुस्तिका परीक्षण गर्न तीन दिन समय दिइएको बताए। आचार्यले मंगलबार हिमालप्रेससँग भने, ‘हिजो, आज र भोलि विषयको प्राप्तांक विवरण २७ गतेभित्र बुझाइसक्नुपर्ने व्यवस्था छ।’ शिक्षकले एउटा उत्तरपुस्तिका परीक्षण गरेबापत २५ रुपैयाँ पारिश्रमिक पाउँछन्। ‘पहिलोपटक छिटो नतिजा निकाल्ने प्रयास भएकाले केही चुनौती आउन सक्छन्, तर काम सम्भव छ’, उनले भने।

प्रकाशित: २४ चैत २०८२ १७:२८ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast