काठमाडौँ- चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी-२०८२ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा फिल्म दर्ता भएको छ भने ९४ वटा फिल्मले सेन्सर सिफारिस प्राप्त गरेका छन्।
बोर्डकाअनुसार यस अवधिमा ५६ वटा नेपाली र ९३ वटा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा भएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ फिल्म हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ।
वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ। बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ।
व्यापारिक तथ्यांकतर्फ हेर्दा नेपाली फिल्मले यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ। नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय फिल्मतर्फ रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७ सय ४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७ सय ५७ टिकट बिक्री भएको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार यो वर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढी दर्शक स्वदेशी फिल्म हल गएर हेरेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक समरीले नेपाली फिल्म उद्योगको उत्पादन, प्रदर्शन, वितरण तथा व्यापारिक गतिविधि निरन्तर विस्तारोन्मुख रहेको संकेत गरेको छ।
बोर्डले यस्ता यो तथ्यांकले फिल्म क्षेत्रको वास्तविक अवस्थाको मूल्यांकन गर्न, नीतिगत योजना बनाउन तथा उद्योगको आगामी दिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने बोर्डको विश्वास छ।




