महिला कामदार विदेश पठाउँदा कम्तीमा १० पटक सोचौँ

साइप्रसमा घरेलु कामदारले भोगिरहेका समस्या र समाधानका उपाय

कुमारबहादुर श्रेष्ठ २२ चैत २०८२ १९:५६ | Sunday, April 5, 2026
26
SHARES
महिला कामदार विदेश पठाउँदा कम्तीमा १० पटक सोचौँ

हिमाली देश नेपाल र टापु देश साइप्रसबीचको सम्बन्धको आधारशिला कूटनीतिक सम्बन्ध हो।नेपालसँग सन् १९८० मा स्थापित कूटनीतिक सम्बन्ध आजको दिनसम्म आइपुग्दा श्रमिक रोजगारका अतिरिक्त पर्यटन र व्यापारमा पनि लम्केको देखिन्छ। द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन सम्बन्धका आधारहरू व्यापार, लगानी,पर्यटन र रोजगार हुन्। यी चार क्षेत्रमध्ये रोजगार क्षेत्रले अलि बढी साइप्रसमा दुई देशको सम्बन्धलाई दिगो मित्र बनाएको छ।

अन्य क्षेत्रमध्ये पर्यटनको स्थान आंशिक भए पनि अन्य क्षेत्रहरू न्यून मात्रामा देखा पर्दछन्। वैदेशिक रोजगारले मात्र साइप्रसमा बृहत् स्थान लिँदै आएको छ। हाल त्यहाँ रहेका नेपाली करिब २० हजार हाराहारीमा छन्। साइप्रसमा महिला महिला कामदारका रूपमा जान थालेको करिब १२ वर्ष जति भयो। सन् २०१३ बाट प्रारम्भ भएको जानकारीमा छ। यस अवधिमा साइप्रस पुग्नेमध्ये महिला कामदार अत्यधिक छन्।

महिला कामदारमा पनि अधिकांश निजी घरमा काम गर्ने घरेलु कामदार बनेका छन्। केही महिला होटेल र कृषि तथा सेवा क्षेत्रमा छन्। साइप्रसमा सबभन्दा राम्रो रोजगारको क्षेत्र भनेको होटेल लाइन हो। जहाँ कुक,वेटर र बेकरीजस्ता काममा नेपाली कार्यरत हुन्छन्। नेपाली महिला होटेल लाइन क्षेत्रमा रोजगार पाए राम्रै हो। शिक्षा र भाषागत ज्ञान अभावमा उनीहरू राम्रो क्षेत्रमा काम पाउँदैनन्। नेपाली गाउँघरबाट भर्खरै विदेशी सहरमा आउँदा नौलो अनुभवका बीच उनीहरू कसैको निजी घरमा काम गर्न पुग्छन्। त्यसरी निजी घरमा काम गर्ने नेपाली महिलाको संख्या १२ हजारभन्दा बढी छ।

घरेलु कामदारको काम गर्ने क्षेत्र 

नेपालबाट साइप्रसमा जाने नेपाली कामदारमध्ये घरेलु कामदारको संख्या धेरै छ। घरायसी कामको ज्ञान मात्र भए पुग्ने, धेरै पढाइ/सीप नचाहिने र कम पैसामा पनि साइप्रस देख्न पाइने, सहज रूपमा काम पाइने आधारमा नेपाली महिलालाई साइप्रस आउन सजिलो छ। होटेल लाइन र संस्थामा घरेलुका रूपमा काम भने कमै पाइन्छ। रोजगारको सजिलो यात्रामा यदि उनीहरूको रोजगार गर्ने क्षेत्र कसैको निजी घर हुन पुग्छ र त्यहाँ जानी-नजानी समस्याको सुरुवात हुन्छ।

अधिकांश निजी घरमा काम गर्नेको राम्रो नराम्रो दुवै पीडा देखिन्छ। एक महिला जब नेपाली समाजबीचको पछौटेपनबाट मुक्त हुन आधुनिक समाजमा प्रवेश गर्छिन् बिना कुनै अनुभव/सीप र शिक्षाबाट तब तड्पिनुपर्छ नयाँ घर नयाँ परिवेशमा टेक्दै खुल्ला विदेशी सहरमा। यसमा कसैलाई राम्रो होला। तैपनि नराम्रो हुनेले हामी सबैलाई प्रभाव पारेका हुन्छन्। समस्या समाधानमा हाम्रो ध्यान केन्द्रित गरिदिएका हुन्छन्।

सकेसम्म रिलिज पेपरमा हस्ताक्षर गर्न नपर्ने गरी कामदारले रोजगारदाताको घरमा काम गरिदिए राम्रै रोजगार देखिन्छ। हाम्रा नागरिक सकेसम्म नहेपिएर मालिक वा रोजगारदाताको कम्पनीमा काम गर्दै जाँदा नेपाली सोझा सीधा महिला हेपिनु हुँदैन भन्ने सबैलाई लाग्दछ। घरेलु कामदारमा केही समस्या आए स्रोतसाधन र जनशक्ति अभाव र दुरीका कारण तत्काल सेवा दिन नसकेको अवस्था एकातिर हुन्छ भने उद्धारको मामिलामा पनि पछि पर्नुपर्ने अवस्था दूतावासमा रहिरहेको छ।

घरेलु कामदारहरूका समस्या

व्यक्तिको निजी आवासमा काम गर्ने गराउने संसारका कुनै पनि देशमा कार्यरत कामदार राम्रो गर्दा गर्दै पनि अनायास कोही हिंसा, दुर्व्यवहार र कोही न्यून तलब र स्वास्थ्य सुविधाको अभावमा रहेका हुन्छन्। कतिले आफ्नो घरको पीडा र रोजगारको असफलतालाई थाम्न नसकेर मानसिक समस्यामा परेका हुन्छन्। मालिकले समयमा भिसा प्रक्रिया सुरु नगरिदिएको भए साइप्रस म्यान पावर कम्पनी र नेपाली म्यान पावर कम्पनी कामदारको समस्यामा जिम्मेवारी बन्नुपर्ने हुन्छ।

धेरै जसो कामदारलाई राम्रै भएको सुनिन्छ- कसैले नेपालमा आफ्नो आर्थकि पक्ष दरिलो बनाएको पाइन्छ भने कसैले एक टुक्रा जग्गा भए पनि जोडेको सुनिन्छ। यी फाइदाका भए पनि विभिन्न स्रोतहरूबाट आएको जानकारीअनुसार जसले घरेलु महिला कामदार घरमा राखेको छ उसले कामदारलाई निम्न व्यवहार गरेको पाइन्छ :

१. कामदारलाई होच्याएर बोल्ने, दुर्व्यवहार गर्ने।
२. वाहिर भित्र आवत जावतमा रोकावट गर्ने।
३. लामो समय काममा लगाउने।
४. आराम गर्न नदिने,जतिखेर पनि कामै काम भन्ने।
५. भान्सामा नयाँ सामान प्रयोग गर्न नजान्दा हप्कीदप्की खानुपर्ने।
६. पर्याप्त खाना खान पनि नदिने।
७. तलब समयमा भुक्तानी नगर्ने।
८. राहदानी/भिसा आफैँ राखिदिने।
९. समयमा भिसा प्रक्रिया सुरुवात नगरिदिने।
१०. भिसा ढिलो गरेर गैरकानुनी बसाइ बनाइदिने र घरमै काम गराइराख्ने।
११. बिरामी पर्दा अस्पताल नलगिदिने।
१२. कसैसँग पनि सम्पर्क गर्न नदिने।
१३. बढी चियो चर्चो गर्ने आदि कारणहरूले महिला कामदारलाई तनाव र डिप्रेसन बढ्दै जाँदा आत्महत्यासम्म पुर्‍याउने जस्ता रोजगारदाता वा मालिकको हर्कत भएको पाइदा यसलाई सुधार गर्न तिर सोच्नु जरुरी छ।

१४. कामदार मन परेन भने असमझदारी बढ्दै कामदारलाई रिलिज पेपर दिने र गैरकानुनी बनाइदिने।

स्वदेशमा हाम्रा चेलीहरू सुरक्षित हुन सक्दैन्न भने विदेशमा कसरी सुरक्षित भएर बसेका होलान् भनेर चिन्ता सबैलाई लाग्नु स्वाभाविक छ। कतिपय भूलबस भएका सानातिना गल्तीमा पनि क्षमा दिन नचाहने विदेशी मालिक वा रोजगारदाताको काममा सेवा गर्दा देखिएका समस्या मालिकको घरसम्म पुगेर बोलिदिने भनी दिने निकायको आवश्यकता देखिन्छ।

नेपाली घरेलु महिला कामदार बिदेसिनुका कारण देहायबमोजिम छन् :
१.  घरपरिवारमा आर्थिक समस्या पर्नु।
२. आर्थिक समस्याले परिवारमा झैझगडा चलिरहनु।
३. सहरबजार/गाउँमा रोजगारका अवसर नपाइनु।
४. रोजगारी अवसर पाउँदा पनि न्यून तलब हुनु।
५. लैंगिक विभेदका आधारमा असमान तलब हुनु।
६. व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारका नाममा वैदेशिक रोजगारलाई रोज्नु।
७. सामाजिक तडकभडक बढ्नाले समाजका अगाडि अरूलाई देखाउन धेरै पैसाका लागि बिदेसिने सोच राख्नु।
८. एक पक्की घर र आफ्ना बच्चालाई राम्रो शिक्षा दिन बिदेसिने इच्छा राख्नु।
९. अरूको देखासिकी गर्दै चाँडै सम्पन्न बन्ने इच्छा राख्नु।
१०. समाजमा गरिबी र धनीबीचको ठूलो ग्याप हुनाले आर्थिक प्रतिस्पर्धा बढ्नु।

उल्ल‍िखित कारणले पुरुषलगायत महिला पनि विदेश जाने इच्छा राखेको पाइन्छ।

महिला कामदार बिदेसिँदा पतिपत्नीबीचको सम्बन्धमा टकराव देखा परेर ससानो विवादमा पनि सम्बन्धविच्छेदको बहाना बनाइने संस्कारको विकास भएको छ। साइप्रसलगायतका देशबाट इजरायलस्थित दूतावासमा पतिपत्नीसँग सम्बन्ध तोड्नका लागि मासिक रूपमा दर्जनौँ अधिकृत वारेसनामा पेपर आउँछन्। ती पेपर प्रमाणित गर्दा हाम्रो मन खिन्न र दुःखी बन्छ। नगरिदिऊँ भन्दा गर्नैपर्ने गरिदिऊँ भन्दा परिवार भाँडिएको देख्नुपर्छ। सम्झाउने बुझाउने गरौँ र मिल्नुहोस् भन्दा सेवाग्राहीले मानवअधिकारको कुरा गर्नुहुन्छ। अनि थाहा हुँदै छ हाम्रो समाज कतातिर दौडिरहेको छ। हाम्रो समाज एकतामा होइन अनेकतामा विभाजित भइरहेको छ।

मानवीय सम्बन्धहरु भाँडिदै जाँदा देशलाई नै घाटा पुगेको छ। हामीले सकेसम्म महिला कामदार विदेश पठाउने सम्बन्धमा १० पटक सोच्न जरुरी भइसक्यो। त्यसमा पनि खाडी देशमा त झन् २० पटक चिन्तन गर्नुपर्छ। यसो भन्दा हाम्रै नागरिक पिर मानेर पाखुरा देखाउँदै विवाद गर्न तयार हुन्छन्। उनीहरूको भनाइ हुन्छ – कि देशमा रोजगारी दिनुपर्‍यो कि पेट भर्नका लागि विदेश आउन पाउनु पर्‍यो। उनीहरु विदेश आउँदा फेरि छुट्टै तनाव छँदै छ। साइप्रसको हकमा पनि त्यही हो। यहाँ पनि धेरै घरेलु महिला कामदार प्रताडित छन्। जनताको दुःखी जीवनको जिम्मेवारी कसैले बोकेको पाइँदैन।

यता बच्चाको आमाले दुःख पाउने उता नेपालमा छोराछोरीहरूले आमाको माया नपाउने, पतिले घर चलाउनुपर्ने, एकान्तमा टोलाउनुपर्ने, यस्तो असह्य पीडाबाट घर समाज चलिरहेको अवस्थामा पनि दैनिक रूपमा महिला कामदारहरू कुनै परामर्शबिना विदेश पठाइरहनु उचित देखिँदैन। हाम्रो समाज पनि जसले जे गर्यो त्यही गर्ने आदत बसेको छ। जो विदेश गयो उसकै पछि दौडिने प्रचलन बढेको छ। यथार्थ र वास्तविकता के हो नबुझिकनै कुद्ने, बिचौलियाको मिठो बोलीमा विश्वास गर्ने, अनि पैसा फसाएर थकथक मान्दै हारगुहार गर्ने स्थितिबाट मुक्त हुन जरुरी छ। फेरि प्रत्येक नागरिकका कमीकमजोरीले सरकारी निकायलाई पनि दिग्दार बनाएको छ। यसमा पनि सरकारी निकायलाई नभन्नु नदेख्नु भनेर बिचौलियाले सिकाएको कुरालाई विश्वासमा लिई शिरोधार्य गर्ने अन्धभक्त सोचले विदेशमा बस्ने नेपाली र दूतावास बीचको सम्बन्धलाई अविश्वासिलो बनाएको स्थिति पनि छ।

समस्या समाधानका केही उपाय

साँच्चिनै वैदेशिक रोजगारलाई व्यवस्थित गर्नु छ भने समस्या समाधानसहित दुवै देशका सरकारी अधिकारी बीचमा सम्झौता नगरी नहुने अवस्था देखा परिसकेको छ। कामदार प्राप्त गर्ने एजेन्सी र मालिकलाई जबसम्म जिम्मेवार बनाउन कानुन निर्माण गर्न सकिँदैन तबसम्म हाम्रा चेलीको कारुणिक आवाज हाम्रो दूतावासले मात्र सुनिरहनुपर्छ। जबसम्म हाम्रो आग्रहलाई पनि तालुक कार्यालयले बेवास्ता गरिरहन्छन् तबसम्म विदेशमा घरेलु कामदारको दारुणिक आवाज थपिँदै जानेछ। नेपाली कामदार ल्याउने अनि छोडिदिने, कुनै मतलब नगर्ने हो भने यो त मानव तस्करी जस्तो भयो।

साइप्रसमा घरेलु कामदारलाई उसको राष्ट्रिय श्रम कानुनमा समावेश भएको थाहा छैन। आफ्ना देशका महिला कामदारको जत्तिकै नेपाली कामदारको स्थान दिएको पाइँदैन। त्यसमा पनि साइप्रसमा नेपाली आप्रवासी महिलाको मानवअधिकार प्रत्याभूति चुनौतीपूर्ण बनेको छ। साइप्रसमा निम्नस्तरको काम गर्ने वर्ग भनेको विदेशबाट आएका अर्धदक्ष/निम्न दक्ष कामदार हुन्। जुन श्रीलंका, बंगलादेश, भारत र नेपाललगायतबाट आएका छन्। उनीहरू काम गर्ने भनेको खासगरी घरेलु कामदारका रूपमा घरमा परिवार तथा बालबच्चा हेरचाहको लागि हो। साइप्रसमा पुरुष कामदारभन्दा घरेलु काममा महिला कामदार बढी छन्। उनीहरूले घरमा शिशुहरू र वृद्धवृद्धाहरूको हेरचाह गर्ने, खाना पकाउने, सरसफाइ गर्ने काम हुन्।

साइप्रसमा रोजगारीको सुनिश्चितताका आधारहरू जस्तै : तलब/भत्ता/बिमा/बिदा/पेन्सन/बोनस/सुरक्षा/हवाई भाडा/भिसा शुल्क आदि सुविधा तोकिएर दुवै पक्ष राजी भएपछि सर्त स्वीकार गरी कामदार साइप्रस आउने परम्परा रहिआएको छ। तर परिआएका भवितव्य समस्यामा समस्या समाधानका लागि भर्ना गरी पठाउने कम्पनी र रोजगारदाता बीचको दायित्व स्पष्ट हुनुपर्छ। ती दायित्वअन्तर्गत कामदारलाई अन्य आवश्यक पर्ने तालिम/भाषा र संस्कृतिको आधारभूत ज्ञान दिनुपर्छ। ताकि तुरुन्त काममा भिड्ने बेला नयाँ परिवेश र नयाँ घरमा केही समस्या परे कामदारले सहज तवरमा आफ्ना परिवार वा दूतावासमा खबर गर्न सकून् भन्ने वातावरण बनाइराख्नु जरुरी छ। के कस्ता सर्त र सेवासुविधा स्वीकार गरी आएको हो चनाखो भई समान काममा समान ज्याला र समान व्यवहार हुनुपर्ने कुरामा जोड दिनुपर्छ। नेपाली कामदारमाथि कामका क्रममा हिंसा हुँदा पीडकलाई कानुनको दायरामा ल्याउन निरन्तर साथीभाइ वा दूतावासको सम्पर्कमा रहनु अत्यावश्यक छ।

यसरी वैदेशिक रोजगारको बेफाइदासमेतलाई ध्यान दिँदै स्वदेशमा रोजगारीको अभाव चिर्न र सिर्जित विविध घरेलु कामदारका समस्या समाधान गर्न स्वदेशमै राज्यले आन्तरिक रोजगारी बढाउन निम्न कार्यहरूको थालनी तत्काल गर्नुपर्छ :

१. उद्योग क्रान्तिः देशमा साना तथा मझौला उद्योग खोल्ने। सोको लागि स्थानीय स्तरमा कच्चा पदार्थको खोजी गर्ने।
२. जुन स्थानीय निकायमा जे जस्तो उत्पादन पाइन्छ त्यसको उद्योगका लागि बजारीकरण गर्ने।
३. जुन नागरिकको इच्छा छ उसलाई उद्योग खोल्न सरकारी ऋण प्रदान गर्ने।
४. उत्पादित स्वदेशी मालसामान मात्र स्थानीय बजारमा प्रयोगमा ल्याउने। क्रमशः विदेशी उत्पादन तिरस्कार गर्दै जाने।
५. सिँचाइ उपलब्ध गराई नगदे बालीमा बढी प्रोत्साहन प्रदान गर्ने।
६. युवाहरूलाई बाँझा कृषियोग्य जमिनको तथ्यांक लिन सरिक गराउने । सम्भावित नयाँ खेतीको अनुसन्धान गर्न लगाउने।
७. आधुनिक कृषि औजारको अत्यधिक प्रयोग गर्न प्रोत्साहित गर्ने र सो खरिद गर्न सरकारले मद्दत गर्ने।
८. उद्योग र कृषि नीति निर्माण गरी सो बमोजिम कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न मौसम अनुसार समय तालिका बनाई भौगोलिक क्षेत्र तोकी प्रारम्भ गर्ने। स्थानीय मानिसलाई रोजगारमा पहिलो प्राथमिकता दिने।

यसरी उत्पादनमूलक कृषिलाई औद्योगीकरणतर्फ उन्मुख गराई स्वदेशमै स्थानीय रोजगारीका अवसरहरू उपलब्ध गराउन सकिन्छ । कृषि र उद्योगबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्दा प्रशस्त रोजगारी सिर्जना हुन्छन् ।

क. सहर वरपर खाद्यान्न तथा तरकारीका लागि – कृषि बजारमा चाहिने कामदारहरू
ख. सहर बाहिर पशुपालन तथा दूधदहीका लागि – पशु बजारमा आवश्यक पर्ने श्रमिकहरू
ग. सहर नजिक उद्योग निर्मित सामानका लागि – औद्योगिक बजारमा खरिद बिक्री गर्न चाहिने जनशक्ति

समस्या समाधानमा राजदूतावासको भूमिका

इजरायलको तेल अविवमा रहेको नेपाली राजदूतावासले सहप्रमाणीकृत मुलुक साइप्रसलाई समेत हेर्दै आएको छ। भौगोलिक रूपमा समुद्रपारि रहेको साइप्रसमा इजरायलबाट साइप्रस जान आउन हवाई क्षेत्रको प्रयोग गरिन्छ। यसमा विगतदेखि नै दूतावासले योजना बनाई साइप्रसमा रहेका नेपाली नागरिकको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका पूरा गर्दै आएको छ। तैपनि विद्यमान समस्यालाई समाधान गर्न दूतावासले निम्न  पहल लिनु आवश्यक छ।

१. दूतावासबाट एकजना प्रतिनिधि प्रत्येक तीन महिनामा साइप्रस भ्रमण गरी कम्तीमा एक हप्ता बसेर कन्सुलरसम्बन्धी समस्या समाधान गर्न आवश्यक छ।

२. साइप्रसमा नेपालको कुनै सरकारी निकाय नभएकाले दूतावासबाटै साइप्रस मामिला हेर्ने हुँदा आर्थिक बजेट आवश्यक पर्छ। त्यो बजेट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयबाट दूतावासमा निकासा हुनु जरुरी छ । दूतावासको बजेटले मात्र साइप्रसमा पूर्ण जनसेवा दिन कठिन छ।

३. निश्चित महिना, दिन, स्थान र समय तोकी सोको जानकारी साइप्रस नेपालीवासीलाई दिई दूतावासका प्रतिनिधि साइप्रस भ्रमण गर्न उपयुक्त हुन्छ।

४. सकभर अवैतनिक वाणिज्यदूतको कार्यालयमा Consular Desk तोकेर अस्थायी सेवा दिन सकिन्छ।

५. दूतावासको प्रतिनिधिबाटै अत्यावश्यक सेवा प्रदान गर्दा सेवाग्राहीलाई लाग्ने थप चार्ज नलाग्ने भई सेवा सर्वसुलभ हुने देखिन्छ र सेवाग्राही पनि सन्तोष रहने अवस्था बन्छ।
६. खासगरी न्यून तलब कमाउने घरेलु कामदारलाई यस्तो सेवाबाट थप सहज हुने र आफ्ना गुनासा र अप्ठेरा राख्न पाउने छन्।

७. दूतावासबाट नियमित यस्तो साइप्रस भ्रमण गर्न सके कामदार ल्याउने र पठाउने कम्पनीहरूबीच सहजीकरणमूलक बैठक राख्न सकिने र सोबाट नेपाली कामदारहरूको हकहित र सुविधाका विषयहरू उजागर गरी समाधान निकाल्न सकिने हुन्छ।

म्यानपावर कम्पनीहरूको भूमिका

कामदार माग गर्ने साइप्रसका रजिस्टर कम्पनी र नेपालका कम्पनीहरूबीच हुने आपसी सम्झौतामा नेपाली कामदारहरूको भर्ना र उनीहरूको साइप्रसमा रोजगार सुनिश्चित भएपश्चात हुने करार सम्झौतामा दुवै पक्षलाई हरेक जिम्मेवार बनाउन जरुरी छ । यसमा नेपाली कामदारलाई योग्यता अनुसार रोजगार दिने विषयमा रोजगार कम्पनीहरूको ठूलो भूमिका रहन्छ । उनीहरूको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ-

१. कति कामदार कहाँ कहाँ रोजगारमा लगाउने त्यो सुनिश्चित गर्नुपर्छ।

२. कामदारको साइप्रस प्रवेश गरेपछि तुरुन्त काममा लाग्नासाथ भिसा प्रक्रिया सुरु गरिदिनुपर्छ।

३. काममा लगाउने रोजगारदाता र कामदारबीच हुने समस्यामा रोजगार कम्पनी जिम्मेवार बन्नुपर्छ।
४. तलब, स्वास्थ्य बिमा, निवास र आरामजस्ता आधारभूत विषयमा समस्या आए कामदारले सम्पर्क गर्ने व्यक्ति तोकिनुपर्छ।

५. कामदार अलपत्र परेमा उनीहरूको उद्धारका लागि कम्पनीहरूको संयुक्त पहलमा अवैतनिक वाणिज्यदूतावास वा एक निश्चित स्थानमा आश्रमस्थल वा सेल्टर खोली दिनुपर्छ र समस्या समाधान नहुँदासम्म केयर गर्ने व्यवस्था मिलाउनुपर्छ।

साइप्रसको सम्बन्धित सरकारी निकायको भूमिका

विदेशी कामदार आएर काम गर्ने देशमा रहेका विदेशी कामदारप्रति सम्बन्धित देशले ध्यान दिनु जरुरी छ। कामदार उनीहरूको देशको नागरिकको सेवा र व्यापार व्यवसायमा सघाउन विदेशी कामदार आएका हुन् यिनको आवश्यक हेरचाह र सुरक्षा दिनु जरुरी छ भन्ने विषय सबैलाई थाहा छ।

यसै सन्दर्भमा साइप्रस सरकारले विदेशी कामदारप्रति निम्न भूमिका खेल्नुपर्ने देखिन्छ।

१. विदेशी कामदारहरूको श्रमिक हकअधिकार र मानव अधिकार सुनिश्चित गर्न कामदारहरूका सम्बन्धित देशसँग श्रम सम्झौता गर्न तत्परता देखाउन जरुरी छ।
२. श्रमिकहरूको सुरक्षा र न्यायका लागि सहजीकरण गरिदिनु जरुरी छ।
३. उचित ज्याला तथा सामाजिक सुरक्षामा प्रदान गर्न सहयोग पुर्‍याइदिनुपर्छ।

साइप्रसमा आजसम्म जे जति नेपाली कामदारहरू रोजगारका लागि जान्छन्, उनीहरू सबै दुवै देशका सरकारबाट मान्यता प्राप्त म्यानपावर कम्पनीहरूको श्रमसम्बन्धी आपसी सम्झौता अनुसार रोजगार पाउँछन्। यहाँ साइप्रसको सन्दर्भमा दुवै देशको द्विपक्षीय स्तरमा भएको श्रम सम्झौता बमोजिम भएको छैन। यदि सम्झौता गर्ने हो भने साइप्रसमा रोजगारसम्बन्धी कार्यलाई थप सुरक्षित, मानवअधिकारसहित पर्याप्त सुविधायुक्त ढंगबाट गर्न सकिन्थ्यो।

यसमा नेपाल सरकारको श्रमसम्बन्धी मामिला हेर्ने मन्त्रालय श्रम बजार खोज्दै द्विपक्षीय श्रम सम्झौता गर्न अग्रसर हुनुपर्ने हो। साइप्रसको हकमा यस्तो सरकारी श्रम सम्झौता बिना पनि चलिरहेको छ। परराष्ट्रका शाखाका रूपमा रहेका राजदूतावासहरूले सीमित साधन स्रोतको अभावमा श्रम मामिलाका कामहरू गरिरहेको अवस्थामा थप बजेटको आवश्यकता पूरा गर्न श्रम मन्त्रालयले अर्थ मन्त्रालयसँग भनेर जोहो गरिदिनुपर्ने हो। त्यो गरेको अवस्था पनि देखिँदैन। परराष्ट्र मन्त्रालय केवल शिक्षा, श्रम र पर्यटन मन्त्रालयका लागि हुलाकी बन्नुपरेको छ। ती तत् तत् मन्त्रालयहरूबाट दूतावासमा पर्याप्त बजेटको व्यवस्था गरिदिनुपर्छ र तब नेपालको व्यापार, लगानी, पर्यटन र श्रमको प्रवर्द्धन गर्न ताकत मिल्ने थियो। विदेशमा समस्या पर्दा अत्तालिएका नेपाली कामदारहरूको लागि श्रम सचेतनाका कार्यक्रमहरू चलाउन सकिन्थ्यो। जुन कुरा वर्षमा एक पटक पनि साइप्रसमा कुनै कूटनीतिक कार्यक्रम राख्न सकिएको छैन। अनि त्यहाँ काम गर्ने तमाम नेपाली महिला पुरुष कामदारहरू आवश्यक श्रम चेतनाको अभावमा रोजगारदाता र मालिकबाट पीडित बन्नुपरेको छ। त्यो कसले देख्छ। देख्नेले समस्या छ भनेर लेखी पठाउने/अनौपचारिक भेटघाटमा भन्ने, एकैछिन सुनेजस्तो गर्ने भोलि सबै बिर्सिदिने गरेमा वैदेशिक रोजगारलाई यो सूचना प्रविधिको युगमा पनि सरलीकृत गर्न सकिने छैन।

 वैदेशिक रोजगारमा यस्ता समस्या रहे पनि पुरुषभन्दा महिला कामदारहरूबाट आर्थिक पक्षमा मितव्ययिता गरेको र उनीहरूबाट आफू र आफ्नो परिवार र राज्यलाई पनि लाभ दिएको तलका बुँदाबाट स्पष्ट हुन्छ :

१. घरमा पारिवारिक सदस्यहरूको अवस्था दरिलो बन्दै गएको।
२. महिलाहरूमा आत्मबल बढ्दै गएको।
३. समाजमा महिला नेतृत्व क्षमता बढ्दै गएको।
५. बालबच्चालाई राम्रो शिक्षा दीक्षा दिन सफल भएका।
५. सहरमा घरघडेरी किन्न सफल भएका।
६. राज्यलाई नियमानुसार कर प्रदान गरेका।
७. राज्यको जीडीपीमा उल्लेख्य सुधार गरेका।

घरेलु श्रमको सम्मान र श्रमिकको आधारभूत अधिकारको सम्मान/प्रवर्द्धन र संरक्षण सुनिश्चित गर्न बनेको घरेलु कामदार अभिसन्धि २०११ (नं.१८९) मा नेपाल पक्ष राष्ट्र बन्न सकेको छैन। साइप्रस पनि पक्ष राष्ट्र बनेको जानकारीमा छैन। तर दुवै राष्ट्रलाई यो सन्धिको पक्ष राष्ट्र बनाएर कामदारहरूको हकमा जवाफदेही बनाउन सकिएमा नतिजा राम्रै दिन्छ।

तर श्रम सम्झौता बिना चलेको साइप्रसको रोजगारीमा रोजगारदाताले धेरै महिला कामदारहरूलाई घरभित्र सीमित गर्ने गरेका छन्। अर्को अर्थमा भन्नु पर्दा कामदारहरूका आधारभूत मानवअधिकार वा श्रम संरक्षण रोजगारदाताहरूकै तजबिजमा निर्भर हुने र लगभग सबै कुरा रोजगारदाताकै नियन्त्रणमा गएको देखिँदा नेपाली कामदारले आपत्‌विपत्‌मा कसरी न्याय पाउँछन् भनेर यस विषयलाई अब हुने श्रम सम्झौतामा समेटिनु जरुरी छ। तुलनात्मक रूपमा खाडीका देशहरूभन्दा साइप्रसमा घरेलु समस्या न्यून छ तथापि केही समस्या  बाहिर आउँदा भित्रभित्रै समस्या नै समस्या छ कि भन्ने सरकारी पक्षलाई लाग्नु स्वाभाविकै हो। सोचे जस्तो नभए त राम्रै हो। फेरि जतिसुकै आर्थिक पक्ष दरिलो बनाउने निहुँमा नेपाली कामदार विदेशमै बसिरहँदा सरकारलाई समाज निर्जन हुन्छ कि भन्ने चिन्ता हो र नेपालीहरू विविधायुक्त समाजबाट टाढा हुँदा देशको रक्षा कसले गरिदिने भन्ने थप चिन्ता हो? अन्यथा, चलिरहेको वैदेशिक रोजगारीमा पर्ने घरेलु श्रमिक भर्ना गर्ने एजेन्सी र रोजगारदाताको निगरानी गर्ने र जिम्मेवार बनाउने विषय श्रम सम्झौतामा लेखेर निश्चित वर्ष काम गरेर नेपाल फर्कनै पर्ने व्यवस्था गर्नु उपयुक्त देखिन्छ। भर्ना प्रक्रियामा भइरहने आर्थिक पक्षलाई जिम्मेवार निकायबाट समय समयमा अनुगमन र निर्देशन पनि हुनु जरुरी हुँदा यसबाट वैदेशिक रोजगारी प्रणाली व्यवस्थित बन्न जाने देखिन्छ। नत्र सरकारी अनुगमन हुन सकेन भने विदेशमा आएर काम सुरु गर्दा कामदारहरूको समस्या तत्कालै देखिएमा समाधानमा थप पेचिलो बन्दै जाने छ।

१२ हजारभन्दा बढी महिला कामदार रहेको साइप्रसमा राज्यका तर्फबाट न त नियमित अनुगमन गर्न भनिन्छ न त सम्पर्क गर्न समस्या बुझ्न कुनै थप चासो र निर्देशन दिइन्छ। नेपाली कामदारहरू विदेशमा के कस्तो अवस्था र चिन्तामा छन्। राज्यलाई कुनै उपाय वा बाटो नदेखाइएको हाम्रो बुझाइ छ। अवस्था र स्थिति बुझ्न जान्छौँ भन्दा पनि तालुक कार्यालयबाट अर्थ/स्रोत साधनको अड्को थापिन्छ। जोखिममा परेका र तत्काल उद्धार गर्नु पर्ने कामदारहरूको लागि साइप्रसमा कुनै भरपर्दो सरकारी संयन्त्र छैन। छ त अवैतनिक वाणिज्यदूतको अस्थायी संयन्त्र छ जसले अस्थायी रूपमा सहयोग र सहजीकरण गरेको देखिन्छ। त्यहाँ अप्ठेरो अवस्थामा दूतावासकै उपस्थिति आवश्यक पर्छ। जहाँ दूतावास छैन त्यहाँ अविरल नेपाली कामदार पठाइरहनु उचित देखिँदैन। कि सानो एक सरकारी स्तरमा कन्सुलेट खोल्नु जरुरी हुन्छ जुन कुरालाई बारम्बार भनिएकै हो। देखाएकै हो। त्यो पूरा भएको छैन।

पछिल्लो पटक नेपालमा पनि हेरचाहको क्षेत्रमा व्यापारी तथा उच्च घरानामा घरेलु कामलगायत रोजगारीका अवसरहरू बढ्दै गएका छन्। विदेशमा रहँदा सिकेको सीप तथा अनुभवहरूलाई पनि नेपालमा रोजगारी पाइँदा सदुपयोग हुन सके राम्रो हुने देखिन्छ। विगतका केही वर्षदेखि मानव आश्रमको रूपमा काठमाडौँलगायत विभिन्न जिल्लाहरूमा वृद्ध-वृद्धाहरूको हेरचाहका लागि आश्रम केन्द्रहरू खोलेको पाइन्छ। यसलाई व्यवस्थित गर्न सके इजरायलको जस्तो सामाजिक सुरक्षाको प्रत्याभूति दिन सके केयर गिभरहरूको रोजगारी बढाउन सकिन्छ।

नेपालमै सरसफाइसम्बन्धी कामदार, वृद्ध-वृद्धाहरू हेर्ने केयर गिभर र पसल-स्टोरहरूमा विदेश जान खोज्ने महिलाहरूलाई नेपालमै सेल्सवुमन/म्यानहरूको रोजगार खोली र स्वदेशमै उचित तलब सुविधा दिएर रोक्ने नीति राज्य पक्षबाट तत्काल कार्यान्वयन गरेमा हाम्रा चेलीहरू विदेशी सहर कुनामा भौतारिनु पर्ने छैन। ठगी, आर्थिक शोषण, अलपत्र पारिदिने दलाली र बिचौलियाहरूको सम्बन्धबाट टाढै रहन सके घरेलु कामदार महिलाहरू कै कल्याण हुने हो। अलपत्र परेका दिदीबहिनीहरूलाई सुरक्षित राख्न एक आश्रमस्थल-सेल्टर आवश्यक भइसकेको अवस्थामा नेपाली कामदारहरूको नेपालका सरकारी निकायप्रति सकारात्मक सोच, राष्ट्रसेवक कर्मचारीको इमानदारी र उनीहरूबाट प्रदान हुने अपरिहार्य सेवा चुस्त दुरुस्त हुनुपर्छ। साइप्रसमा नेपालको कुनै कूटनीतिक नियोगको उपस्थिति बिना श्रमबजार चलिरहेको छ तापनि सधैँ समान तवरले चलिरहला भन्न सकिन्न। किनभने नेपाली कामदारहरूको संख्या निरन्तर वृद्धि भइरहेकै छ। होइन भने राज्यले देशमा आन्तरिक रोजगारी र व्यवसायको उचित वातावरण निर्माण नगरी दिने, अनि फेरि केही समयपछि केही बहाना बनाएर विदेशिने संस्कृतिलाई रोक्न नसके देशका लागि पश्चातापबाहेक केही पाइने छैन।

(श्रेष्ठ नेपाली दूतावास, इजरायलमा कार्यरत छन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast