काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारको कार्यशैली र परराष्ट्र नीतिले नेपालको राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने खतरा रहेको दाबी गरेका छन्। राष्ट्रिय जनमोर्चाद्वारा शनिबार काठमाडौँमा आयोजित ‘चुनावको मूल्यांकन र नेपालको परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन्।
महामन्त्री सिंहले हालै सम्पन्न निर्वाचनलाई राजनीतिक र संवैधानिक दृष्टिकोणले अनावश्यक ठहर्याउँदै यसलाई वैदेशिक शक्ति केन्द्रको रणनीतिक स्वार्थसँग जोडेर व्याख्या गरे। ‘भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले सुरु गरेको स्वतःस्फूर्त आन्दोलनलाई वैदेशिक शक्तिले आफ्नो स्वार्थ अनुकूल उपयोग गरेको देखिन्छ,’ उनले भने, ‘अहिलेको राजनीतिक विकासक्रम र सरकारको गठनमा अमेरिकी रणनीतिको प्रत्यक्ष प्रभाव रहेको हाम्रो ठहर छ।’
उनले नेपाललाई वैदेशिक सैन्य रणनीति र शक्ति राष्ट्रहरूको द्वन्द्वको केन्द्र बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । एमसीसी र एसपीपी जस्ता सम्झौतामार्फत नेपाललाई चीन विरुद्धको सैनिक मोर्चाबन्दीमा सामेल गराउने र नेपालको भूमिलाई तिब्बत मामिलामा प्रयोग गर्ने खतरा बढ्दै गएको उनको दाबी छ ।
छिमेकी मुलुकहरूसँगको सम्बन्धका बारेमा चर्चा गर्दै सिंहले भारतले गरेको सीमा अतिक्रमण, कालापानी क्षेत्रको कब्जा र नागरिकता सम्बन्धी विवादास्पद नीतिका विरुद्ध वर्तमान सरकार मौन रहेको आरोप लगाए । साथै, चीनले नेपालको नयाँ नक्सालाई उपेक्षा गरेको विषयमा पनि सरकारले दृढ कूटनीतिक अडान लिन नसकेको उनको टिप्पणी थियो ।
विश्व राजनीतिमा बढ्दो साम्राज्यवादी होड र युद्धको खतराबाट नेपाललाई जोगाउन ‘असंलग्न परराष्ट्र नीति’ नै सर्वोत्तम विकल्प भएको सिंहले उल्लेख गरे । ‘नेपाल जस्तो भू–परिवेक्षित राष्ट्रका लागि छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको सरकारबाट राष्ट्रिय स्वाधिनताको रक्षा हुनेमा शङ्का छ । त्यसैले सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट भई राष्ट्रिय हितको रक्षामा उभिनुपर्ने बेला आएको छ।’




