कर्णाली : मुख्यमन्त्री कडेल र प्रदेश प्रहरी प्रमुखबीच नोकझोक

रमा केसी २० चैत २०८२ २१:३९ | Friday, April 3, 2026
46
SHARES
कर्णाली : मुख्यमन्त्री कडेल र प्रदेश प्रहरी प्रमुखबीच नोकझोक

सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कडेल र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाबीच केही दिनअघि एमालेले गरेको विरोध प्रदर्शनको विषयलाई लिएर घोचपेच भएको छ। वीरेन्द्रनगरमा शुक्रबार इन्सेकले आयोजना गरेको एक कार्यक्रममा उनीहरूबीच सो घटनालाई लिएर नोकझोक भएको हो।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरिएको थियो। सो क्रममा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारी र प्रहरीबीच विवाद भएको थियो। विवादका क्रममा प्रहरी घाइते भएका थिए भने प्रहरीले पनि एमालेका नेता तथा कार्यकर्ताहरूमाथि लाठीचार्ज गरेको थियो।

सो विषयप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री कडेलले आफू सुरक्षित भए पनि आफ्नो पार्टी कार्यालय सुरक्षित हुने अवस्थामा नरहेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए। मन्तव्यका क्रममा उनले आफू मुख्यमन्त्री भएको हुनाले राज्यले दिएको सुरक्षा लिएर हिँडे पनि आफू आबद्ध पार्टी कार्यालय सुरक्षा निकायबाटै सुरक्षित नहुने अवस्था रहेको बताए।

‘आन्दोलनमा दु:खद् घटनाहरू हुन्छन्, भइरहेका छन्, नहुनुपर्ने थियो। आन्दोलनकारीले पनि विवेक गुमाउनु हुँदैन,’ उनले भने, ‘तर त्यो भन्दा जिम्मेवारीमा रहेकाहरूले (प्रहरी) जतिसुकै दु:खद् घटना घटेको भए पनि संयमित हुनुपर्छ। तर त्यही संयमितता गुमायो भने के हुन्छ? समाज अर्कै ठाउँमा पुग्छ।’

त्यसपछि डीआईजी सापकोटाले आन्दोलन गर्दा कुनै आपत्ति नहुने तर शान्ति सुरक्षा पनि भंग गर्न नहुने बताए। ‘सुरक्षा दिइरहेका प्रहरी निरीक्षक राजन भट्टराईलाई सुरुमा एमालेका एक कार्यकर्ताले मुक्का हानेर दाँत भाँचिदिएका थिए,’ उनले भने, ‘त्यसपछि प्रहरीले एमालेका नेता तथा कार्यकर्ताहरूलाई लाठीचार्ज गरेको हो। उनीहरूले प्रहरीले दमन गरेको भन्दै टिप्पणी गरिरहेका छन्।’

उनले प्रहरी निरीक्षकको उपचार जारी रहेको र अगाडिको दुई वटा दाँत झरेको समेत बताए। ‘एमालेको जुलुस अघि गयो, हाम्रो प्रहरी पछिपछि थियो। सहमतिअनुसार नै राँको राखियो। राँको राख्ने ठाउँमा राज्यका ठूलै मान्छेहरूले घेरेर इन्स्पेक्टरको दाँत भाँचिदिए,’ उनले भने, ‘त्यस्तो अवस्थामा के हामीले हेरेर बस्ने?’

सापकोटाले उक्त घटनामा अहिले सरकारको जनप्रतिनिधि समेत रहेका मान्छेको सहभागिता रहेको संकेत गरे। ‘प्रहरीको शरीरमा त्यहाँ काँटीले हो कि केले घोचेको छ, भाटाले हानेको छ। त्यो अवस्थामा लाठी चार्ज गर्ने अधिकार हाम्रो हो,’ थप प्रस्ट पार्दै उनले भने, ‘त्यसपछि बल प्रयोग गरिएको र त्यस क्रममा अलिअलि चोटपटक लागेको हो। सत्यतथ्य त्यही हो, त्यो भन्दा बढी पनि छैन, त्यो भन्दा घटी पनि छैन।’

उनले शान्ति सुरक्षाका लागि प्रहरी भएकाले अर्कालाई पर्दा खुसी हुने र आफूलाई पर्दा दु:खी हुन काम गर्न नहुने बताए।

प्रकाशित: २० चैत २०८२ २१:३९ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast