काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन्।
‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने।
त्यसैगरी सभापति लामिछानेले अब जातका आधारमा कसैले झुक्नु नपर्ने बताए। ‘अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन,’ उनले भने, ‘यो माफीको मूल्य न्यायले गर्नेछ।’
लामिछानेले खगेन्द्र सुनारहरूमाथि गरिएको युगौयुगको अन्याय हुँदा विगतमा कसैले माफी नमागेको भन्दै उनले आफैँ माफी मागेको बताए। ‘संगठित अपराध थियो, यो सरकार पहिलो पटक सार्वजनिक रुपमा माफी माग्दैछ यो सदनबाट,’ लामिछानेले भने।
लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको पनि बताए। लामिछानेले सिंहदरबार बदल्न जनताले मत दिएको उल्लेख गरे। ‘यो मत सिंहदरबार चलाउन मात्रै होइन, सिंदरबार बदल्न हो। बदल्न सुरु गरिसकेका छौँ,’ लामिछानेले भने।
सरकारलाई काम गर्न सय दिन नचाहिने उनको भनाइ थियो। ‘हामीलाई हनिमुन प्रियडरको समय चाहिँदैन। काम गर्न सुरु गरिसकेको छौँ,’ उनले भने।




