काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन्।
उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन्।
उनी निकट स्रोतका अनुसार निर्वाचन लगतै उनले प्रलोपा अध्यक्ष परिषद् सदस्यबाट राजिनामा दिएका हुन्। ‘राजनीतिमा नैतिकता र जिम्मेवारी महत्वपूर्ण हुन्छ। त्यही कारण राजीनामा दिनुभएको थियो।’ उनी निकट स्रोतले बतायो। तर पार्टीले राजीनामा स्वीकृत नगरेपछि पुनः बुधबार अर्को पत्र बुझाएका हुन्। उनी निकट ती नेताका अनुसार राजीनामा दिएपछि नैतिकताका आधारमा हिजो बैठकमा पनि उनी सहभागी भएनन्।
उनलाई पछिल्लो समय ‘फरक तरिका’ले अघि बढ्न निकट नेताहरूले सुझाव दिइरहेका छन्। यसअघिको चुनावमा पनि सुनसरी १ र भोजपुर खोटाङमा औपचारिक समर्थन श्रमसंस्कृतिलाई गरेका कारण श्रम संस्कृति सहितका शक्तिहरूसँग ध्रुवीकरण हुने सम्भावना बलियो रहेको ती नेताले बताए।




