मालपोत र नापीमा बिचौलिया निषेध गर्न मन्त्रालयको निर्देशन

हिमाल प्रेस १८ चैत २०८२ २०:१३ | Wednesday, April 1, 2026
16
SHARES
मालपोत र नापीमा बिचौलिया निषेध गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ।

बुधवार  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशनअनुसार सचिवस्तरीय निर्णयबाट देशभरका नापी कार्यालय तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेरमात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेका हुन्।

पत्रमा कार्यालयहरूमा विभिन्न बहानामा बिचौलियाहरू प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ।

मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ।

निर्देशनमा कार्यालयका विभिन्न फाँटहरूमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने जनाइएको छ।

बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीले भने निवेदन र कागजात देखाएर सहजै सेवा पाउने छन्।

पत्रमा भनिएको छ, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च. नं.११३० मिति २०८१।११।१५ को पत्रबाट सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन कार्यालयमा अधिकृत व्यक्तिहरू (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउने साथै त्यस्ता अनधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख कागजातमा पहुँच नदिने व्यवस्था तत्काल मिलाउनु हुन मिति २०८१।११।१५ (सचिवस्तरीय) को निर्णयअनुसार अनुरोध छ।’

साथै उक्त व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा जुनसुकै बेला अनुगमन हुने र कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख तथा नभएको सम्बन्धमा जुनसुकै बेला अनुगमन हुने र कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुने पत्रमा भनिएको छ।

साथै पत्रमा कार्यालयका कर्मचारीहरूलाई अनिवार्य परिचयपत्र लगाउन, परिचय खुल्ने कागजात देखाएरमात्र कार्यालयमा प्रवेश गर्ने व्यवस्था गर्न, कार्यालयमा अनावश्यक भिडभाड हुन नदिनलगायतका व्यवस्था गर्न मन्त्रालयले कार्यालय प्रमुखलाई निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast