अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए पनि इरानसँगको युद्ध दुई वा तीन साताभित्र अन्त्य हुन सक्ने बताएका छन्। उनको यो अभिव्यक्तिले विश्वको आर्थिक क्षेत्रमा हलचल ल्याएको द्वन्द्वप्रति ट्रम्पको बढ्दो अधैर्यलाई संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
‘हामी सम्झौता भए पनि नभए पनि बाहिरिनेछौँ, त्यो अप्रासंगिक छ’, ट्रम्पले मंगलबार राति ओभल अफिसमा पत्रकारहरूसँग भने। उनले वासिंगटन र तेहरानबीच सम्झौता सम्भव भए पनि अमेरिका दुई वा तीन सातभित्र युद्धबाट बाहिरिन सक्ने बताए।
अन्तर्राष्ट्रिय तेल मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११८.३५ डलर पुगेको दिन ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। कच्चा तेलको मूल्य एक महिनाअघि युद्ध सुरु भएयताकै उच्च वृद्धि भएको छ।
पाँचौँ सातामा प्रवेश गरेको अमेरिका-इजराय र इरान युद्धले विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ। यसबाट नयाँ मुद्रास्फिति बढाउने खतरा पैदा गरेको छ। साथै नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी जनतालाई जीवनयापन खर्च घटाउने ट्रम्पको आशालाई कमजोर बनाएको छ।
यस युद्धले अमेरिकी उपभोक्ता र व्यवसायमा गम्भीर असर पारिसकेको छ। मंगलबार पेट्रोलको औसत मूल्य प्रतिग्यालन चार डलर पुगेको छ। यो सन् २०२२ पछि पहिलोपटक उच्च वृद्धि भएको हो। डिजेल इन्धनको मूल्य झन्डै ५.५० डलर प्रतिग्यालन पुगेको छ।
राजनीतिक र आर्थिक दबाब बढ्दै जाँदा पनि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पश्चिम एसियामा सैन्य उपस्थिति विस्तार गरिरहेको छ।
ट्रम्पले युद्ध अन्त्य गर्नुअघि त्यहाँका सबै संरचनाहरू ध्वस्त पार्न चाहेको बताएका छन्। उनले भने, ‘हामीले उनीहरूलाई ‘पत्थर युग’ मा पुर्यायौँ भने उनीहरूले आणविक हतियार बनाउन सक्ने छैनन्, त्यसपछि उनीहरूले मसँग सम्झौता गर्नु आवश्यक हुँदैन।’
अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले भने इरानसँग प्रत्यक्ष वार्ता सम्भव रहेको बताएका छन्। ‘कुनै समय प्रत्यक्ष भेटघाट हुन सक्ने सम्भावना छ, हामी त्यसका लागि सधैँ खुला छौँ’, उनले भने।
इरानका राष्ट्रपति मसउद पेजेस्कियानले पनि आफ्नो देश युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्। अमेरिकाले फेरि आक्रमण नगर्ने सुनिश्चित गर्नुपर्ने सर्त उनको छ।
तर अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानमा स्थल सेना पठाउने सम्भावना अस्वीकार गरेनन्। ‘हामी के गर्ने वा नगर्ने भन्नेमा अनिश्चित रहनु नै रणनीति हो,’ उनले भने।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार ट्रम्पले बुधबार राति ९ बजे राष्ट्रलाई सम्बोधन गर्दै इरानबारे महत्त्वपूर्ण जानकारी दिने भएका छन्।
गत साता ट्रम्पले इरानलाई अप्रिल ६ सम्म सम्झौता गर्न समयसीमा दिएका थिए। अन्यथा ऊर्जा पूर्वाधारमा थप आक्रमण गर्ने चेतावनी उनको थियो। तेहरानले अमेरिकी १५ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेपछि प्रगति देखिएको छैन। यद्यपि तेस्रो पक्षमार्फत वार्ता जारी रहेको बताइएको छ।
वासिंटनस्थित परामर्श संस्था बिकन पोलिसी एडभाइजर्सका अनुसार हालसम्म वार्तामा कुनै ठोस प्रगति भएको छैन। ट्रम्पले अब युद्धबाट बाहिरिने वा थप चर्काउनेमध्ये एक निर्णय लिनुपर्ने अवस्था आउन सक्छ।
यसबीच ट्रम्प प्रशासनले इरानविरुद्ध युद्ध सुरु गर्नुका कारणहरू पनि समयक्रममा बदलिँदै गएका छन्। यसबाट लगानीकर्ताहरूमा अन्योल उत्पन्न गरेको छ।
ट्रम्पले आफ्नो मुख्य लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएका छन्। उनले भने, ‘शासन परिवर्तन मेरो लक्ष्य थिएन।’ यद्यपि पछिल्ला दिनमा उनका सहयोगीहरूले शासन परिवर्तन भइसकेको दाबी गरेका छन्।




