काठमाडौँ- चारपटकको विश्व च्याम्पियन इटालीलगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो। यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन।
खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो। प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० खेलाडीमा सीमित रहँदा पनि खेललाई पेनाल्टीसम्म तानेको थियो, तर अन्ततः हार व्यहोर्नुप¥यो।
इटालीले १५औं मिनेटमा मोइज केनको गोलबाट अग्रता लिएको थियो। निकोलो बारेल्लाको दबाबपछि गोलकिपर निकोला वासिल्जको गल्तीको फाइदा उठाउँदै केनले सुन्दर गोल गरेका थिए।
तर पहिलो हाफको अन्त्यतिर अलेसान्द्रो बास्टोनी रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सीमित भयो। त्यसपछि बोस्नियाले लगातार आक्रमण ग¥यो। ७९औं मिनेटमा एडिन जेकोको हेडर गोलकिपर जानलुइजी डोनारुम्माले रोके पनि रिबाउन्डमा हारिस तबाकोभिचले गोल गर्दै खेल बराबरीमा ल्याए।
पेनाल्टी सुटआउटमा बोस्नियाका सबै खेलाडी सफल भए। बेन्जामिन ताहिरोभिच, तबाकोभिच, केरिम अलाजबेगोभिच र इस्मिर बज्रक्तारेभिचले गोल गरे। इटालीका दुई प्रहार असफल भएपछि टोलि बाहिरियो।
बोस्निया–हर्जेगोभिना आफ्नो इतिहासमा दोस्रो पटकमात्र विश्वकपमा छनोट भएको हो। ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा रहेको टोलीले यसपटक समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।




