काठमाडौँ- गत राति एकाएक हल्ला फिजियो, ‘महेश बस्नेतलाई प्रहरी पक्राउ गर्न जाँदैछ र उनी फरार भए।’ यतिसम्मकी उनलाई खोज्न प्रहरी एमाले मुख्यालय च्यासलमा पनि खटिएको जानकारी आयो। तर बस्नेत भने निरन्तर सम्पर्कमा रहिरहेका छन्। उनी रातिबाटै सामाजिक सन्जालमा छाइरहेका छन्।
उनले केहीबेरअघि पनि आज माइतीघरमा विरोध प्रदर्शनमा सहभागी हुने जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले आन्दोलनको मोर्चामा भेट हुने बताएका हुन्।
एक युवतीको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गर्न आइतबार प्रहरी टोली परिचालन भएको थियो। तर बस्नेत मोबाइल अफ गरेर सम्पर्कविहीन भएको प्रहरी अधिकारीले जानकारी दिएका थिए ।
बस्नेतले भने आफू फरार नभएको बताउँदै आन्दोलनको मोर्चामा भेट हुने जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा एमाले राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ, बस्नेतले भनेका छन्, ‘आन्दोलनको मोर्चामा भेट हुनेछ।’




