काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका पूर्णबहादुर खड्काले मंगलबारका लागि देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरूको बैठक बोलाएका हुन्। देउवा निकट स्रोतका अनुसार टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ। बैठक धुम्बाराहीको एक होटलमा बस्ने छ।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन्। यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए। छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए।
खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न पार्टीका नेता-कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए। आजै उनले २१ फागुनमा निर्वाचित प्रतिनिधिसभाका कांग्रृेस सांसदहरुलाई बधाई दिन धुम्बाराहीको स्मार्ट होटल बोलाएका छन्।




