छेन्दु, चीन- चीनको छेन्दुमा ‘फेवा डायलग’ को दोस्रो संस्करण शुक्रबार सम्पन्न भएको छ। उक्त सम्मेलनलाई चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्ने अर्को एक महत्त्वपूर्ण कोशेढुंगाका रूपमा सहभागीहरूले अर्थ्याएका छन्।
चीनको सिचुआन विश्वविद्यालयको चाइना सेन्टर फर साउथ एसिया स्टडीज (सीसीएसएएस) र नेपालको त्रिभुवन विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त दुई दिने संवाद (मार्च २६-२७) ले चीन, दक्षिण एसिया र छिमेकी क्षेत्रका अग्रणी प्राज्ञ, थिंक ट्याङ्कका प्रतिनिधिहरू र नीति अभ्यासकर्ताहरूलाई एकठाउँमा जुटाएको थियो।
‘फेवा डायलग’मा क्षेत्रीय विकाससँग सम्बन्धित प्रमुख रणनीतिक मुद्दाहरूमा छलफल गर्ने गरिन्छ। यसको उद्देश्य पारस्परिक समझदारीलाई प्रवर्द्धन गर्नु, सहमति निर्माण गर्नु र सहभागी देश तथा संस्थाहरूबीच सहकार्यलाई बलियो बनाउनु रहेको आयोजकले जनाएको छ। सम्मेलन ‘दक्षिण एसियामा जलवायु परिवर्तन, शासन र विकास’ विषयमा केन्द्रित थियो।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले जलवायु परिवर्तनका चुनौतीहरूविरुद्ध सामूहिक प्रतिक्रियाको आवश्यकता रहेको बताए। ‘चीन र नेपालले जलवायु परिवर्तनलाई संयुक्त रूपमा सम्बोधन गर्न लामो बाटो तय गरेकामा मलाई खुसी लागेको छ। चीनको हरित संक्रमणले गति लिइरहँदा त्यसले नेपाल लगायत दक्षिण एसियाली देशहरूमा हरित विकासका अवसरहरू ल्याइरहेको छ,’ उनले भने।
सिचुआन विश्वविद्यालयका उपकुलपति लिउ चाओले सिचुआन विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग दीर्घकालीन र स्थिर सहयोग स्थापित गरेको बताए। साथै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत ११ वटा छोटो अवधिका अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान कार्यक्रमहरू सञ्चालन गरेको उनकत्त भनाइ छ। ‘१०० भन्दा बढी नेपाली विद्यार्थीहरू सहित ४०० भन्दा बढी दक्षिण एसियाली विद्यार्थीहरूले सिचुआन विश्वविद्यालयमा अध्ययन गरेका छन्। सिचुआन विश्वविद्यालयले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र पुनर्निर्माण, कार्बन तटस्थता र हरित ऊर्जाजस्ता क्षेत्रहरूमा विशिष्ट अनुशासनात्मक अवसर प्रदान गर्छ,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीले यस सम्मेलनमा व्यक्त विचारहरूले अन्तर-क्षेत्रीय कनेक्टिभिटीलाई बढवा दिने बताए।
‘फेवा डायलग’को अघिल्लो संस्करण सन् २०२४ को डिसेम्बरमा नेपालको पोखरामा आयोजना भएको थियो।




