कार्की आयोगको प्रतिवेदनमा रूपन्देही : सुनको बिस्कुट गायबदेखि घरमा आगजनीसम्मको बयान

विनोद परियार १४ चैत २०८२ १९:२० | Saturday, March 28, 2026
46
SHARES
कार्की आयोगको प्रतिवेदनमा रूपन्देही : सुनको बिस्कुट गायबदेखि घरमा आगजनीसम्मको बयान

बुटवल- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा रूपन्देहीका घटनाहरूको पनि दस्तावेज गरिएको छ। प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा रूपन्देहीका जनप्रतिनिधिको बयान समावेश गरिएको छ।

यहाँ मानवीय क्षति नभए पनि सरकारी भवन, पार्टी कार्यालय तथा नेताहरूको घरमा आक्रमण भएको थियो। प्रतिवेदनमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, संघीय सांसद तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरूसँगको बयान समावेश गरिएको छ। भदौ २४ गते मुस्किलले ज्यान जोगाएको देखि सुन हराएको सम्मका कुराहरू बयानमा लेखिएको छ।

सिद्धार्थका मेयर भन्छन् : सुनको बिस्कुट हरायो

आयोगको प्रतिवेदनमा रूपन्देहीका पार्टीका कार्यालयदेखि जनप्रतिनिधिहरूको घरमा आगलागी भएको थियो। भदौ २४ गतेको घटनाका सन्दर्भमा कार्की आयोगको प्रतिवेदनमा विभिन्न व्यक्तिहरूको बयान राखिएको छ।

उक्त बयानमा सिद्धार्थ नगरपालिकाका मेयर इस्तियाक अहमद खानले आफ्नो घर जल्दा निकै पीडा भएको बताएका छन्। उनले आफ्नो समुदायले प्रतिकार गरेको भए, अर्को घटना हुने बताउँदै बयानमा भनेका छन्- ‘साढे तीन किलो सुनको बिस्कुट हराएको छ, डेढ किलो गहना, एक करोड पाँच लाख नगद थियो, केही देखिएन।’

मेरो घर किन जलाइयो ? : भोजप्रसाद श्रेष्ठ

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले आफ्नो घर जलेको प्रसंगमा आयोग निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताए। उनले आफ्नो घरमा आगलागी गर्ने जेनजीलाई समेत प्रश्न गरेका छन्। ‘आज जेनजी प्रतिनिधि पनि उपस्थिति हुनुपर्थ्यो। मेरो घरमा १५ जना जेनजी छन्। उनीहरूलाई हतियार बोकाउने कि बुद्धको उपदेश पढाउने? राजनीतिमा लाग्नु भनेको अपराध हो? उनले जेनजीलाई प्रश्न गरेका छन्। उनले गलतको गलत भन्न सक्नुपर्ने बताउँदै बयानमा भनेका छन्- ‘भ्रष्टाचारी हुँ? आतंककारी हुँ? भन्ने प्रमाणित होस्। म अपराधी कहाँनिर भएँ?’ उनले आगलागीबाट ७६ लाख क्षति भएको उल्लेख गरेका छन्।

प्रहरीले दमकल रोक्यो : वासुदेव घिमिरे

यस्तै पूर्वसांसद वासुदेव घिमिरेले आफ्नो घरमा आगलागी हुँदा साढे तीन करोड क्षति भएको बयान दिएका छन्। उनले समाजमा रहेका अराजक तत्त्व  अभिभावकलाई नटेर्ने युवा, लागूऔषध सेवनकर्ताहरूले आगो लगाएको बयान दिएका छन्। ‘किटानी जाहेरी साथ भिडियो दिँदा पनि प्रहरी प्रशासनले काम गरेको छैन। सुरक्षा संयन्त्रको लाचारीपन देखिन्छ। दमकल पनि रोकिएको छ। दमकल जलाइन्छ भनेर प्रहरीले रोकेको थियो’, उनले बयानमा भनेका छन्।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले फिल्मी शैलीमा मुलुकको सत्ता परिवर्तन हुनु नै रहस्यमय भएको बताएका छन्। उनले सरकार सुरक्षा निकाय, नेता सबैका विषयमा कुरा उठेको बयान दिएका छन्। ‘पार्टी कार्यालय जलेका छन्। घरवास जलेको छ। व्यवसायी प्रतिष्ठानमा आगजनी भएको छ’, उनले भनेका छन्।

उनले आफ्नो घरमा जलेको र त्यहाँ रहेका अन्नपात, सम्पत्ति केही पनि नबनेको बयान दिएका छन्। ‘गलत हिसाबले आर्जन गरेको सम्पत्ति नष्ट भएको छ भने ठीक छ नत्र राज्यले उचित क्षतिपूर्ति दिनुपर्छ’, उनले भनेका छन्।

सैनामैना मेयरको प्रश्न :  राष्ट्रिय झण्डा ओढेर अपराध गर्न मिल्छ?

सैनामैनाका प्रमुख फणीन्द्र शर्माले आफ्नो घरमा आगजनी भएको बयान दिएका छन्। ‘जसले गल्ती गर्छ कारबाही गर्नुस् भनेका छौँ। क्षतिको मूल्यांकन जिल्ला मूल्यांकन समितिले गरेको छ। यो घटनामा प्रशिक्षित मान्छे ठूलाठूला पाखुरा भएका स्काउट, रेडक्रसका मान्छेहरू प्रयोग भएका छन्। एकजनालाई मेसेज गर्दा सयौँ मान्छेमा जाने प्रणालीबाट काम गरेका छन्’, उनले भनेका छन्।

नगरप्रमुख शर्माले राष्ट्रिय झण्डा ओढेर अपराध गर्ने, रेडक्रसको ज्याकेट लगाएर तोडफोड गरेको बताएका छन्। ‘हामीले पनि यी अपराधीहरूलाई ठेगान लगाउन सक्छौँ। जेल बसेका, लागूऔषध कारोबारी, सेवन गर्ने र अपराधमा संलग्न भएका मान्छेहरू प्रयोग भएका छन्’, उनले बयानमा भनेका छन्।

सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले सार्वजनिक स्थलमा जुताको माला लगाएर लाने भनेको बयान दिएकी छन्। ‘अपराधीहरू खुलेआम हिँडिरहेका छन्। पक्रन माथिल्लोको आदेश आएको छैन भन्छ प्रहरीले दोषीमाथि कारबाही होस्, मनका पीडा पोख्ने अवसर दिनुभएकोमा धन्यवाद’, उनले भनेकी छन्।

रूपन्देहीको देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले आफ्नो घरमा जेनजीहरूले आगो लगाउन आउँदा नजिकै रहेको प्रहरी र सशस्त्रसमेत नआएको बताए। उनले घरबाट नभागेको भए मार्न सक्ने बयान दिएका छन्।

जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, नेकपा एमालेका नेता राजु गुरुङ, अर्का नेता हितराज पन्थी, नेकपाका नेता नारायण महत, पुष्प ढकाल लगायतको बयान राखिएको छ। बयानमा रास्वपाको कुनै पनि नेताको नाम लेखिएको छैन। प्रतिवेदनको पेज नम्बर ४६१ को अन्तिम पेजदेखि ४६८ को सुरुको पेजसम्म रूपन्देहीको घटनाबारे बयान लिएकाहरूको विवरण राखिएको छ।

प्रकाशित: १४ चैत २०८२ १९:२० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast