गोरखाको चुमनुब्री फिलिममा मोटर पुग्यो

हिमाल प्रेस १३ चैत २०८२ ६:०० | Friday, March 27, 2026
12
SHARES
गोरखाको चुमनुब्री फिलिममा मोटर पुग्यो

गोरखा- चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ। पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो।

बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ। तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन।

स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका छन्। नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा गरिएको छ। त्यसैले उक्त क्षेत्रमा मोटर पुग्न सहज भएको हो।

चार पाङ्ग्रे सवारीसाधन सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण गरिएको स्थानीय कुमारी गुरुङले बताइन्।

‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुँदै पैदल आउनुपथ्र्यो’, उनले भनिन्, ‘अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ।’

ह्यूम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिइन्।

मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनी बताउँछिन्।

अस्थायी पुल भएकाले समस्या समाधानको दीर्घकालीन उपाय भने नभएको गुरुङको भनाइ छ।

उनको भनाइ छ, ‘यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ। पक्की पुल नै आवश्यक छ।’

सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा सङ्घको टोली आएको थियो। तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन।

सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज विभागमा पठाइसकेको छ। निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढेपनि कुनै निर्णय आएको छैन। सोही कारण काम अघि बढाउन नसकिएको पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए।

‘नदी किनारदेखि फिलिमसम्मको ४.५ किलोमिटर सडक ट्रयाक खोल्ने तयारी छ’, अधिकृत लामिछानेले भने। सडक ट्रयाक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ। पालिकाले सडक ट्रयाक खोल्न रु एक करोड २५ लाख विनियोजन गरेको छ।

प्रकाशित: १३ चैत २०८२ ६:०० | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast