प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शका क्रममा घटेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएकी छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन ‘लिक’ भएपछि प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।
फागुन २४ गते नै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाए पनि सरकारले सार्वजनिक गरेको थिएन। तर, बुधबार आयोगको प्रतिवेदन विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको छ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
त्यस्तै उनले नेपाल बालसंगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिउको सुशासन मार्गचित्र, २०८२ पनि सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
यसअघि मंगलबार उनले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेकी छन्। यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गर्नेछ।




