काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका घटनामाथि अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनाइएको जाँचुबझ आयोगले तयार पारेको प्रतिवेदन अंशअंशमा प्रकाशित हुँदा जनतामा अन्योल र आशंका बढ्ने बताएका छन्।
आयोगले गत फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। तर कार्की सरकारले प्रतिवेदन सार्वजनिक नगरे पनि प्रतिवेदनका केही अंश मिडियामार्फत सार्वजनिक भएका छन्।
सोही सन्दर्भमा डा.भट्टराईले भने,‘यसरी छानबिन आयोगका प्रतिवेदनहरू अंशअंशमा प्रकाशित हुँदा आम जनतामा अन्योल र आशंका झन् बढ्छ। विभिन्न स्वार्थ केन्द्रहरूले खेल्नसक्छन्। सामाजिक सञ्जालहरूबाट मिथ्यासञ्चार फैलिनसक्छ।’
डा.भट्टराईले प्रतिवेदन सार्वजनिक नगरेकोमा प्रधानमन्त्रीलाई प्रश्न पनि गरेका छन्। ‘अन्तरिम सरकारले कार्की आयोग गठन गर्यो उसैले यसलाई सार्वजनिक गर्नु सबै हिसाबले राम्रो हुन्थ्यो। पूर्वप्रधानन्यायाधीश रहिसक्नु भएको र कुनै दबाब बिनाको गैरदलीय सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीले यति कुरा पक्कै नबुझ्नुभएको हैन होला? कि कसो हो? ‘बिरालोलाई जति खाष्टोले छोपेर राखेर पनि आखिर म्याउ.उ.गरिहाल्छ’ भन्ने लोकोक्ति नबिर्सौं है!,’ डा.भट्टराईले बुधबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।




