उद्यमीको आत्मदाहले राज्य संयन्त्रमाथि गम्भीर प्रश्‍न उठायो : निर्माण व्यवसायी महासंघ

हिमाल प्रेस १३ माघ २०७९ १५:३४
10
SHARES
उद्यमीको आत्मदाहले राज्य संयन्त्रमाथि गम्भीर प्रश्‍न उठायो : निर्माण व्यवसायी महासंघ

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले उद्यमीहरूको निराशा, अप्राकृतिक मृत्युवरण र आत्मदाहजस्ता कार्यले नेपालको राज्य संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको जनाएको छ।

उद्योगी व्यवसायीका समस्याप्रति राज्यका निकायहरू जिम्मेवार नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्याजस्ता अत्यन्त दुःखद एवम् गम्भीर प्रकृतिका घटना भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

‘नयाँ सरकार गठन भई अर्थतन्त्रले गति लिने आशा गरिएकै बखत् सार्वजनिक भइरहेका यस्ता घटनाले निर्माणसहित सबै खाले उद्योगमा लागेका व्यवसायीहरू सहित देश विदेशमा रहेका तमाम नेपालीहरूलाई मर्माहत बनाएको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्वदेशभित्र नै उद्यम एवम् व्यवसाय गरी आत्मसम्मान साथ जीवन निर्वाह गर्न चाहने व्यवसायीहरूले परिबन्धमा परी बाध्यतावस् मृत्युवरण गर्दा राज्य, राज्यका सञ्चालक र नीति तथा नियम परिपालना गराउने निकायहरूमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको महसुस महासंघले गरेको विज्ञप्तिमा जनाइएको छ।

‘अन्य व्यवसायीरू झै निर्माण व्यवसायीहरू पनि राज्यबाट निर्माण सम्पन्न परियोजनाहरूको भुक्तानी वषौंदेखि नपाउँदा मानसिक रुपमा अत्यन्त प्रताडित मात्र भएका छैनन्, ‘सप्लाई चेन’हरूसमेत अस्तव्यस्त भएका छन्,’विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक निर्माण व्यवसायीहरूले मूल्यवृद्धि, तरलता अभाव, राष्ट्र बैंकको अस्थिर तथा अव्यवहारिक नीति नियम, क्रसर संचालनमा देखिएको अवरोध, नीतिगत अस्पष्टता, राज्यका संयन्त्रबीच समन्वय अभाव झेलिरहेको महासंघको भनाइ छ।

यी र यस्ता नीतिगत पक्षहरूको तत्काल सम्बोधन नहुने हो भने समग्र अर्थतन्त्रको चक्रमा गम्भीर असर परी आगामी दिनमा अझ दुःखद घटनाहरू हुनसक्ने खतरा देखिएतर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यस्ता दुःखद घटनाबाट बेलैमा शिक्षा लिएर संविधानप्रदत्त गरी खान पाउने अधिकार सुनिश्चित गर्न र व्यवसायीलाई आफ्नो कारोबार निर्धक्क गर्ने वातावरण सिर्जना गरिदिन महासंघले सरोकारवाला सबैसमक्ष अपील गरेको छ।

प्रकाशित: १३ माघ २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast