फुटपाथ खाली गराउन गृहमन्त्री आफैँ उत्रिए सडकमा

हिमाल प्रेस ८ चैत २०८२ १६:०८ | Sunday, March 22, 2026
26
SHARES
फुटपाथ खाली गराउन गृहमन्त्री आफैँ उत्रिए सडकमा

काठमाडौँ- जनकपुरधाम नगर क्षेत्रको फुटपाथ खाली गराउन प्रदेश सरकारका गृह  सञ्चार तथा कानुनमन्त्री फकिरा महतो आफैँ सडकमा उत्रिएका छन्। स्थानीय व्यापारीहरूले अतिक्रमण गरेको फुटपाथ खाली गराउन गृहमन्त्री महतो आफैँ सडकमा उत्रिएका हुन्।

व्यापारीहरूले फुटपाथ अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि पैदल हिँडडुल गर्ने यात्रुलाई समस्या भोग्नुपरेको छ। जनकपुरधामको अधिकांश फुटपाथ अतिक्रमण गरेर व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्ने गरेका छन्।

व्यवसायीहरूले फुटपाथ अतिक्रमण गरेर कब्जाम लिएपछि उपमहानगरपालिकाले खाली गर्न पटक–पटक प्रयास गर्दै आएको छ। उपमहानगरपालिकाको नगर प्रहरी पुग्दा व्यवसायीहरूले फुटपाथ खाली गरे पनि फेरि व्यवसाय सञ्चालन गर्ने गरेका छन्।

फुटपाथ अतिक्रमण भएर पैदल यात्रीलाई हिँडडुल गर्न समस्या भएपछि पछिल्लो समय उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायतले संयुक्त अभियान सञ्चालन गरेका छन्।

फुटपाथ अतिक्रमण खाली गर्न उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचना व्यवसायीहरूले अटेर गरेपछि आइतबारबाट अभियान नै सञ्चालन गर्नुपरेको उपमहानगपालिकाले जनाएको छ।

प्रदेश गृहमन्त्री महतोले आफू नीति बनाउने ठाउँमा रहे पनि आवश्यकता परेकोले सडकमा उत्रिनुपरेको बताएका छन्। ६४ लाख प्रदेशवासीका लागि प्रमुख ठाउँ भएकाले पनि जनकपुरधामलाई व्यवस्थित बनाउने अभियानमा आफू सक्रिय भएको उनको भनाइ छ।

‘जनकपुरधाम ६४ लाख प्रदेशवासीको राजधानी हो, यो ठाउँ सुन्दर र व्यवस्थित हुनुपर्छ भन्ने मेरो भनाइ हो,’ उनले भने,‘सडकबाटै आएर म मन्त्री बनेको हो, आवश्यकता परेकोले सडकमा उत्रिएको छु, यो अभियान निरन्तर जारी रहनेछ।’

महतोले उपमहानगरपालिकालगायतका सरोकारवाला निकायले सञ्चालन गरेको अभियानमा आफूले सहकार्य गरेको बताए।

रामानन्द चोक, जानकी मन्दिर, भानु चोक, जनक चोकलगायत भिडभाड रहने प्रमुख क्षेत्रका सडकको फुटपाथ अतिक्रमण गरेर व्यवसायीहरूले व्यापार सञ्चालन गर्ने गरेका छन्। फुटपाथमै व्यापार सञ्चालन हुन थालेपछि पैदलयात्रुहरू सडकबाटै हिँडडुल गर्न बाध्य हुने गरेका छन्।

प्रकाशित: ८ चैत २०८२ १६:०८ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast