काठमाडौँ-तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धन आयोगले आइतबार तत्कालीन सचिव अधिकारीसहित २१ जना व्यक्ति र दुईटा कम्पनीमाथि मुद्दा दायर गरेको हो।
उनीहरूमाथि ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको विशेष अदालतले जनाएको छ।
नेपाल सरकारका पूर्वसचिव अधिकारी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सचिवालयको सचिवका रूपमा कार्यरत छन्।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्यितारले यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेललाई पनि प्रतिवादी बनाएको छ।
त्यस्तै प्राधिकरणका निवर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अधिकारी हाल पुर्पक्षका लागि थुनामा छन्।




