एकै सिजनमा छ पटक पर्‍यो मुस्ताङमा हिउँ, किसानलाई राहत

हिमाल प्रेस ८ चैत २०८२ ६:२७ | Sunday, March 22, 2026
6
SHARES
एकै सिजनमा छ पटक पर्‍यो मुस्ताङमा हिउँ, किसानलाई राहत

मुस्ताङ- मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् ।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो। शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन् ।

घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथि ठुलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन् । हुरीबतासबिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उनको भनाइ छ ।

मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई असर पुर्‍याउने गरेको किसान थकालीले उल्लेख गरे ।

त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ ।

यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठुलो राहत पुर्‍याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए । खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ, उनले भने, यसपटक लगातार छ पटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्त्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।”

अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्ग्यानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले जनाए । मुस्ताङमा पर्यटकीययाममा जारी सिजनको छैटौँ पटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गरे ।

 

प्रकाशित: ८ चैत २०८२ ६:२७ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast