काठमाडौँ- सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगी गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाइमा शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरुले ‘ग्यास छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानुन बनोस्, पीडितलाई फुटाउने षडयन्त्र नगरियोस्, विगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बचकर्ताको पैसा फिर्ता गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अब बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए। सय दिनभित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिवद्धता अब पूरा हुनुपर्ने भन्दै उनले आफूहरुको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए।
उनले यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अब नयाँ सम्झौताभन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा आफूहरुको जोड रहेको धारणा राखे।





