इरानको राजधानी तेहरानको उत्तरी क्षेत्रमा फारसी नयाँ वर्षका अवसरमा बिहीबार फूल किन्दै एक महिला। तस्बिर : एपी/रासस
सबैभन्दा मिठा कुरा प्रायः सबैभन्दा निर्दयी क्षणमा आइपुग्छन्। तेहरानमा बमबारीका बीचमा मानिसका चाहना तत्काल जन्मिन्छन्। विस्फोट र कम्पनपछि कसैले केही मिठो खोज्छ। जाम देखा पर्छ। एउटा पेस्ट्री दुई भागमा टुक्र्याएर बाँडिन्छ।
लगातार हवाई आक्रमण भइरहेको तेहरानमा मिठाईको कुरा गर्नु अस्वाभाविकजस्तो लाग्न सक्छ। तर शरीरले आफ्नै माग राख्छ। बाँच्ने शान्त अभ्यास हुन्छन्- आफूले अर्को विस्फोट सहेर पनि बाँचेको छौँ भन्ने अनुभूति दिने तरिका।
फेब्रुअरी २८ देखि अमेरिका-इजरायलले इरानविरुद्ध आक्रमण जारी राखेका छन्। आक्रमणको निसाना राजधानी तेहरान र नजिकका सहर केन्द्रित छन्।
तेहरानका सर्वासधारणको बाँच्ने साना अभ्यासले डरविरुद्ध कमजोर तर निरन्तर प्रतिरोध कायम राखिरहेका छन्। डर कुनै अमूर्त कुरा होइन। सबैभन्दा तीव्र आक्रमणका बेला शरीरका प्रत्येक कोष काँप्छन्। बाहिरबाट आवाज आएजस्तो लाग्दैन; त्यो शरीरभित्रै यात्रा गर्छ, मानौँ हड्डीहरूले नै प्रतिध्वनि दिइरहेका छन्। ती क्षणमा मनमा प्रश्न उठ्छ: के यो अन्तिम हो? अनि झन् डर लाग्दो प्रश्न उठ्छ- म बाँचेँ भने पनि मेरा प्रियजन बाँच्नेछन्? वा हामी सबै बाँचे पनि बाहिर निस्कँदा हाम्रो जीवन सम्हालेर राख्ने घर नष्ट भएको भेटिन्छ?
यो चक्र दिनमा धेरैपटक र झन्डै हरेक रात दोहोरिन्छ। निद्रा अस्थिर बन्छ। तपाईं सुत्न जानुहुन्छ, तर सुनिन्छ- लडाकु विमानको गर्जन वा अर्को विस्फोटले जुनसुकै बेला उठाउन सक्छ। मौनतामै पनि मनले सबैभन्दा खराब सम्भावनाको अभ्यास गरिरहन्छ।
यसबीच पनि जीवन अगाडि बढ्न खोजिरहन्छ। भोलि दिउँसो के खाने? अनि पर्सि? यी प्रश्नहरू निश्चित भविष्यका कारण होइन, अनिश्चितताका कारण सोधिन्छन्। खानाको योजना बनाउनु प्रतिरोधको एउटा रूप बन्छ- डरसमक्ष पूर्ण रूपमा नझुक्ने निर्णय। ‘आज बेलुकाको खाना के खाने?’ कसैले सोध्छ, मानौँ संसार भर्खरै हल्लिएको थिएन।
खाद्य पदार्थ बेच्ने एक साथीले युद्ध सुरु भएको पहिलो दुई सातामै अघिल्लो पूरा वर्षभन्दा बढी रास्पबेरी जाम बेचिन्। बमबारीकै बीचमा पनि भट्टीहरू चलिरहेका छन्। बेकरीहरू खुलै छन्। ताजा रोटीको सुवासले गल्ली र घर भरिएका छन्। यी सबै संकेत हुन्- सहर अझै जीवित छ।
हरेक विस्फोटपछि पहिलो आवश्यकता हुन्छ- हामी सबै अझै जीवित छौँ भनेर पक्का गर्नु। फोनमा सन्देश आउँछन्। आफन्त र साथीहरूको कलहरू ओभरल्याप हुन्छन्। आवाज राहतले काँपिरहेका हुन्छन्- ‘हामी ठीक छौँ।’
सुपरमार्केटका र्याकहरू भरिएका छन्। मानिसहरू एकअर्कालाई ढाढस दिन्छन्- खाना छ, रोटी छ, पर्याप्त छ। तर तुरुन्तै अर्को प्रश्न उठ्छ- कसका लागि? तपाईं खानुहुन्छ र सोच्नुहुन्छ- कसले खान पाएको छैन? टेबुलमा बस्दा तपाईं त्यस्ता परिवारहरूको कल्पना गर्नुहुन्छ, जसले आफ्ना बालबालिकालाई साधारण खानासमेत जुटाउन संघर्ष गरिरहेका छन्। स्थिर अर्थतन्त्रमा दैनिक ज्यालामा निर्भर मजदुर झन् किनारामा धकेलिएका छन्।
केही क्षण यस्ता हुन्छन्, जसले मानवीय गरिमाको यस्तो रूप देखाउँछन्, त्यसलाई हेर्नै गाह्रो हुन्छ। सडक जोखिमपूर्ण छन्। बम कति बेला पड्किन्छन् अनिश्चित छ। तर पनि मानिस काममा जान जिद्दी गरिरहेका छन्। आधारभूत आवश्यकताका लागि मानिसले कति कडा संघर्ष गर्छन्। पहिल्यै भारी बोकेकाहरूका लागि जीवन कति कठिन बन्छ- यो देख्दा नम्रता र पीडा दुवै अनुभव हुन्छ।
यस युद्धलाई बुझ्न झन् गाह्रो बनाउने कुरा यसको हिंसा मात्र होइन, यसको तत्कालिकता पनि हो। तेहरान आधुनिक सहर हो वर्तमान समयको। युद्ध भनेको अघिल्लो शताब्दीको क्रूर विरासतजस्तो लाग्नुपर्ने कुरा हो। तपाईंलाई तयारी गराउने कुनै साइरन हुँदैन। पहिलो सूचना विस्फोट हुन्छ। त्यसपछि आउने अनुभूति सबैभन्दा अपमानजनक डर।
मानसिक प्रभाव टेलिभिजनका पर्दामा पनि फैलिन्छ। च्यानलहरू छिटोछिटो फेरिन्छन्। सरकारी प्रसारणहरूले सहनशीलता र विजयको घोषणा गर्छन्। विपक्षी स्वरहरूले शासन पतनको भविष्यवाणी गर्छन्। मानिसहरूले बमका झट्का मात्र होइन, सूचनाका विकृतिहरू पनि सहन्छन्, सत्य कहाँ छ भन्ने अन्योलमा।
सीमापार संसारले हेरिरहेको छ। इरानी डायस्पोरा पनि। केही त उत्सव मनाइरहेका छन्। विदेशमा रहेका मानिस नाचिरहेका तस्बिरहरू छन्। उनीहरूलाई युद्धले परिवर्तन ल्याउने विश्वास छ, विनाशले नयाँ बाटो खोल्नेछ। तर विस्फोटको घेराभित्रबाट यस्तो आशावाद बुझ्न गाह्रो हुन्छ। क्षेप्यास्त्रहरू झ्याल हल्लाउने गरी नजिक खस्दा युद्धप्रतिको समर्थन पूर्ण रूपमा भिन्न अनुभूति बन्छ।
जिम्मेवारी आवाजको कोलाहलमा हराउँछ। हरेक पक्षले दोष टार्छ। सामान्य मानिसहरू बीचमा उभिएर परिणाम भोगिरहेका छन्। जीवन साना अन्तरालहरूमा मापन हुन्छ- विस्फोटहरूबीच, चियाका कपहरूबीच र अर्को प्रियजनले अर्को रात पार गर्यो भन्ने सन्देशहरूबीच।
नाज्मे बोर्जमहरको यो आलेख फाइनान्सियल टाइम्सबाट अनुवाद गरिएको हो।





