काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने कार्यक्रमअन्तर्गत आवेदन खुला गरिएको जानकारी गराएको छ।
मन्त्रालयअन्तर्गत कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रम बमोजिम उक्त प्रक्रिया अगाडि बढाइएको जनाएको हो।
मन्त्रालयका अनुसार वृत्तिका लागि आवेदन दिन १५ दिनको समय दिइएको छ। विस्तृत सूचना सम्बन्धित मन्त्रालयको वेबसाइट तथा राष्ट्रिय दैनिक गोरखापत्र मा मिति २०८२ चैत १ गते प्रकाशित भइसकेको छ।
यसैबीच, मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा शिक्षक सेवा आयोगलाई आफ्ना मातहतका कार्यालयमा कार्यरत निजामती कर्मचारीलाई जानकारी गराउन निर्देशन दिएको छ।
शाखा अधिकृत जय प्रकाश बस्नेतले जारी गरेको पत्रमा भनिएको छ,‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने कार्यक्रम सम्बन्धी सूचना प्रकाशित भइसकेकाले सम्बन्धित सबै कर्मचारीलाई जानकारी गराइदिनु हुन अनुरोध छ।’





