काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ। भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो।
बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।





