पाकिस्तानमा इन्धन अभाव

हिमाल प्रेस २७ फागुन २०८२ १५:११ | Wednesday, March 11, 2026
10
SHARES
पाकिस्तानमा इन्धन अभाव

शेखुपुरा- पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ। देशभर इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्यांकरहरू लामो समयसम्म रोकिएको बताएका छन्। तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा बढेको युद्ध र तनावका कारण तेल तथा ग्यास आपूर्तिमा अवरोध सिर्जना भएको छ। यसले विश्व बजारमा तेलको मूल्य बढाउन थालेको छ भने विभिन्न देशहरू ऊर्जा आपूर्ति सुनिश्चित गर्न संघर्षरत देखिएका छन्। यही असर पाकिस्तानमा पनि देखिन थालेको छ।

पंजाब प्रान्तको राजधानी लाहोर नजिकका इन्धन डिपोहरूमा दर्जनौं ट्यांकरहरू सडक किनारमा पार्क गरिएका देखिएका छन्। ती ट्यांकरहरू देशका विभिन्न भागमा पेट्रोल र डिजेल पुर्‍याउने काम गर्छन्। तर डिपोहरूमा पर्याप्त इन्धन नहुँदा चालकहरू लामो समयसम्म त्यहीँ रोकिन बाध्य भएका छन्।

एक ट्यांकर चालक अब्दुल शकूरले पछिल्ला चार दिनदेखि डिपोमा पेट्रोल उपलब्ध नभएको बताए। उनका अनुसार डिपो खाली रहेको कारण ट्यांकरहरू इन्धन लिन नसकी थन्किएका छन्। उनले इरानतर्फको सीमा बन्द भएको जानकारी पाएको पनि बताए जसका कारण आपूर्तिमा थप समस्या आएको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तानले आफ्नो अधिकांश तेल र ग्यास खाडी क्षेत्रका देशहरूबाट आयात गर्ने गर्छ। मध्यपूर्वमा बढेको संकटका कारण इन्धन बोकेका जहाजहरूको सुरक्षा सुनिश्चित गर्न यस साता नौसैनिक सुरक्षासहित समुद्री मार्गबाट ढुवानी गरिएको बताइएको छ।

गत साता पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य करिब बीस प्रतिशतले बढाएको थियो। मूल्यवृद्धिपछि देशभरका पेट्रोल पम्पहरूमा लामो लाइन लागेको थियो भने धेरै स्थानमा मानिसहरूले एकैपटक ठूलो मात्रामा इन्धन किन्ने प्रयास गरेका थिए।

पेट्रोलियममन्त्री अली परवेज मलिकले मंगलबार प्रसारित एक अन्तर्वार्तामा तत्काल इन्धनको मूल्यमा ठूलो परिवर्तन नहुने बताए। उनले सरकारले आपूर्ति व्यवस्थापन गर्न आवश्यक कदम चालिरहेको पनि बताए।

यसैबीच प्रधानमन्त्री शहबाज शरीफले इन्धन बचत गर्न विभिन्न मितव्ययी उपायहरू घोषणा गरेका छन्। सरकारी कर्मचारीको कार्यसप्ताह चार दिनमा सीमित गर्ने, केही समयका लागि विद्यालय बन्द गर्ने जस्ता निर्णयहरू लागू गरिएको छ, जसबाट इन्धन खपत कम गर्ने लक्ष्य राखिएको छ।

तर ट्यांकर चालकका सहायक मझर महमूदले डिपोमा अझै इन्धन उपलब्ध नभएको बताए। उनका अनुसार चालकहरू बुधबार पनि डिपो पुगेका थिए तर कर्मचारीहरूले इन्धन नआएको जानकारी दिएको छ।

उनहरूलाई इन्धन आउन अझै पाँचदेखि छ दिन लाग्न सक्ने भनिएको छ। महमूदका अनुसार देशको अवस्था राम्रो देखिएको छैन र पेट्रोल अभावकै कारण धेरै ट्यांकरहरू सडक किनारमै पार्क गरिएका छन्। रासस/एएफपी

प्रकाशित: २७ फागुन २०८२ १५:११ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast