काठमाडौँ- शिक्षक, स्वास्थ्यकर्मी र समाजसेवकका रूपमा विभिन्न अनुभव सँगालेका राजकिशोर महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। धनुषा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका उनले ४८ हजार २७० मतसहित नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
महतो आफूले अनुभव गरेको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्यालाई नीति तहमा उठाउने गृहकार्यमा जुटेको बताउँछन्। उनले शिक्षण पेसाबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका थिए। सरकारी विद्यालयमा निजी स्रोतमा शिक्षकका रूपमा झन्डै चार वर्ष अध्यापन गरेको अनुभव उनीसँग छ।
उनको जीवनयात्रा विभिन्न पेसागत अनुभवले भरिएको छ। उनले काठमाडौँमा झन्डै दस वर्ष मेडिकल सेल्स अफिसरका रूपमा काम गरेका छन्। स्वास्थ्य क्षेत्रसँग जोडिएको त्यो अनुभवले ग्रामीण समाजको स्वास्थ्य अवस्थाबारे नजिकबाट बुझ्ने अवसर दिएको उनी बताउँछन्।
उनको शिक्षण यात्रा भने सोलुखुम्बु पुगेपछि अझै स्मरणीय बन्यो। सोलुखुम्बुको बुद्ध माध्यमिक विद्यालय, गोलीमा उनले दुई वर्ष अध्यापन गरे। उनी भन्छन्, ‘दुर्गम क्षेत्रको विद्यालयमा बिताएका ती वर्षमा मैले शिक्षा क्षेत्रका समस्या र चुनौती प्रत्यक्ष अनुभव गर्न पाएँ।’
शिक्षकको हैसियतले उनले शिक्षक आन्दोलनमा पनि सक्रिय भूमिका खेले। गत वर्ष चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौँमा भएको शिक्षक आन्दोलनमा उनी प्रत्येक दिन उपस्थित भए। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका करिब चार लाख शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका थिए।
त्यही आन्दोलनका क्रममा महतोले स्वयंसेवकको रूपमा काम गरे। आन्दोलनकारी शिक्षकहरूका लागि उनले पानी वितरण गरे, व्यवस्थापनमा सघाए। आफू आन्दोलनमा सक्रिय भए पनि त्यसको प्रचारका लागि तस्बिर खिचाउने वा व्यक्तिगत प्रचार गर्ने प्रवृत्ति भने उनले देखाएनन्।
शिक्षकका माग र शिक्षा क्षेत्रका समस्या समाधान गर्नु आफ्नो प्राथमिकता रहेको महतोले बताए। शिक्षक आन्दोलनबाट आएको अनुभवकै आधारमा उनी शिक्षा ऐन जारी गर्नुपर्ने विषयलाई गम्भीर रूपमा उठाउने बताउँछन्। ‘शिक्षकका मागलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ। विज्ञहरू, शिक्षकका प्रतिनिधिहरूलाई राखेर शिक्षा ऐन र शिक्षकका जायज माग पूरा गराउने पहल गर्नुपर्छ,’ उनी भन्छन्। संसद्मा शिक्षकका माग जोडदार रूपमा उठाउने उनको प्रतिबद्धता छ।
शिक्षण र स्वास्थ्य क्षेत्रसँगै उनले समाजसेवामा पनि सक्रियता देखाए। २०७९ सालदेखि उनी वैकल्पिक राजनीतिको विचारसँग नजिकिँदै शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका विभिन्न अभियानमा संलग्न हुन थाले। समाज परिवर्तनका लागि नयाँ राजनीतिक धार आवश्यक रहेको विश्वासका साथ राजनीतिक यात्रामा लागेको उनको भनाइ छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापना कालदेखि नै आबद्ध भएका हुन्। स्थानीय तहको शिक्षासँग पनि उनको सम्बन्ध छ। बट्टेश्वरको आधारभूत विद्यालयसँग जोडिएको उनको अनुभव छ, जुन अहिले माध्यमिक विद्यालयमा रूपान्तरण भइसकेको छ। शिक्षा क्षेत्रसँगको यही सम्बन्धले आफूलाई शिक्षक, विद्यार्थी र अभिभावकका समस्याप्रति संवेदनशील बनाएको महतोले बताए।





