कोशीका २८ क्षेत्र : झापा र मोरङमा रास्वपाको एकछत्र [को कहाँबाट निर्वाचित?]

विवेक विवश रेग्मी २६ फागुन २०८२ ८:३६ | Tuesday, March 10, 2026
18
SHARES
कोशीका २८ क्षेत्र : झापा र मोरङमा रास्वपाको एकछत्र [को कहाँबाट निर्वाचित?] कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य।

इटहरी-  २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कोशी प्रदेश १८ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्र रहेको झापा र ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ। यसै गरी सुनसरीका चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा रास्वपाले निर्वाचन जित्दा क्लिन स्विप हुनबाट हर्क साम्पाङ बाधक बनेका छन्।

पहाडी जिल्लामा रास्वपाले प्रभाव नजमाए पनि ओखलढुंगामा भने झिनो मतान्तरले रास्वपा उम्मेदवार विजयी भए। कोशीका २८ वटा निर्वाचन क्षेत्रमध्ये को, कहाँ, कुन दलबाट निर्वाचित भए?

ताप्लेजुङ : ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन्। थेवेले १३ हजार ९८२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर दुई हजार २५१ रहेको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्री पराग ६ हजार ७७५ मत प्राप्त गरे।

श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेर चौथो स्थानमा रहँदा रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरे। ९० हजार ३ सय २७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय ७४ मत खसेको थियो।

पाँचथर :  पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भए। केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १७ हजार ७ सय ३४ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ४ सय ९९ सय रहेको छ।

एमालेका अइन्द्र सुन्दर नेम्वाङ १४ हजार २ सय ३४ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४ सय ४३ मत ल्याएर चौथो स्थान सुरक्षित गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले भने ४ हजार १ सय ८७ मत प्राप्त गरेको छ।

इलाम :  इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राई विजयी भएका छन्। श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्।

राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याए।

यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ भए।

इलामको क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भए। उनले २२ हजार ४२६ मत पाएका छन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे। यसै गरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मतसहित तेस्रो भए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ १ हजार १७२ मतमा सीमित भए। सो क्षेत्रमा यसअघि पनि एमालेका सुहाङ नै निर्वाचित भएका थिए।

सोलुखुम्बु : सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी भएका छन्। कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरे।

नेकपा (एमाले)की उमेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरे। यसैगरी श्रम संस्कृति पार्टीका उमेदवार वियस राईले तीन हजार ३६३ मत प्राप्त गरेका छन्।

ओखलढुंगा : ओखलढुंगामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल झिनो मतान्तरले निर्वाचित भएका छन्। पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरे। पोखरेलले लुईटेललाई ५ मतले पछि पार्दै विजयी भएका हुन्। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अन्तिम मतगणनासम्म दुवै उम्मेदवारबीच कडा टक्कर देखिएको थियो।

उक्त निर्वाचन क्षेत्रमा यसअघि कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए।

खोटाङ :  खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन्। राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे।

यसै गरी नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरे।

भोजपुर : भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्। उनले १६ हजार ६६३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। नेकपा एमालेका उम्मेदवार शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे।

नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशप्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।

नेकपा एमालेबाटै विद्रोह गरी ध्रुव श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। उनी ०७४ को निर्वाचनमा एमालेबाट टिकट पाएर टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष थिए।

शेरधन भने ०७९ को निर्वाचनमा सुदन किरातीसँग पराजित भएका थिए।

संखुवासभा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६ सय ३६ मत ल्याई निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन्। पराजित शेर्पाले १५ हजार मत ल्याएका छन्।

नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरिन्।

तेह्रथुम : तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। उनले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।

ढकाल यसअघि मोरङ क्षेत्र ३ बाट डा. सुनील शर्मासँग पराजित भएपछि यसपटक भने तेह्रथुममा निर्वाचन लड्न गएका थिए। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेन्द्र कार्कीले ७,७३७ मत प्राप्त गरे।

धनकुटा : धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राई निर्वाचित भए। राईले १८ हजार १३२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत प्राप्त गरे।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरे। निर्वाचित राईको यो जितसँगै उनले ह्याट्रिक गरेका छन्। २०७९ सालको निर्वाचन जितेपछि उनी दुईपटक मन्त्री समेत भइसकेका छन्।

उदयपुर : उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलाल निर्वाचित भएका छन्। गेलालले ३० हजार ५९० मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईकोले ११ हजार ६०६ मत प्राप्त गरे। उनीहरूबीचेका मतान्तर १८ हजार ९८४ रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाको ९ हजार २०६ रहेको छ।

सो निर्वाचन क्षेत्रमा यसअघि कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका थिए। उदयपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्य तामाङ निर्वाचित भए। उनले १४ हजार ८०२ मत प्राप्त गरी विजयी भएका हुन्।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६४८ मत प्राप्त गरे। यसै गरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेशकुमार राईले ५ हजार ११७ मत प्राप्त गरे। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले ३ हजार १३९ मत प्राप्त गरे।

सुनसरी : सुनसरी क्षेत्र नं. १ मा हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले ३५ हजार ७४१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन)ले २७ हजार २४९ मत ल्याइन्।

उनीहरूबीचको मतान्तर ८ हजार ४९२ रहेको छ। यसै गरी नेकपा (एमाले)का टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मतमा सीमित भए। निर्वाचित भएका साम्पाङ यसअघि धरान उपमहानगरपालिकाको मेयर थिए। उनले मेयरबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए।

सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा निर्वाचित भएका छन्। उनले ५७ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे। यसै गरी नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरे। नेकपाबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी १ हजार ८१६ मतमा सीमित भइन्।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका थिए। सुनसरी २ मा कुल १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको थियो।

सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरी निर्वाचित भएका छन्। चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरे। यसै गरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले भने १५ हजार ८३ मत मात्र प्राप्त गरिन्।

२०७९ को निर्वाचनमा एमालेकी भगवतीले कांग्रेसका गच्छदारलाई पराजित गरी निर्वाचित भएकी थिइन्। गच्छदार आठौँपटक प्रतिस्पर्धामा थिए। उनले यसपटक आफू अन्तिम पटक निर्वाचन लडेको उद्घोष गर्दै आएका थिए। निर्वाचित हुने रास्वपाका चौधरी यसअघि समानुपातिकबाट सांसद बनेका थिए।

सुनसरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह विजयी भएका छन्। उनी लामो समय सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए। राउतले उनलाई स्पष्टीकरण लिँदै पार्टीबाट निकाले। त्यसपछि साह रास्वपा लागे। तिनै साह अहिले सुनसरी ४ बाट विजयी बनेका हुन्।

अन्तिम मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५ सय ८७ मत मात्रै प्राप्त गरे। साह र कार्कीबीचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ। नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ८ हजार ६ सय ३१ मत प्राप्त गरे।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका महम्मद महफुज अन्सारीले ३ हजार ४ सय ३२ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७ सय ६३ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन जितेका थिए।

मोरङ : मोरङमा रास्वपाले क्लिन स्विप गरेको छ। मोरङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गर्दै निर्वाचित भए। निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन्। नेपाली कांग्रेस उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गरे।

यस्तै, नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार कुलप्रसाद साँवाले २,२२४ मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्रमा ०७९ को निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका थिए।

मोरङ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्ण कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १५ हजार ६ सय २४ मत मात्रै प्राप्त गरे। उनीहरूबीचको मतान्तर २५ हजार ३ सय बढी रहेको छ।

यसै गरी कांग्रेसका डा. मीनेन्द्र रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरी तेस्रो भए। मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्की निर्वाचित भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुनीलकुमार शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै कार्की विजयी बनेका हुन्।

अन्तिम मतपरिणामअनुसार कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरे भने शर्मा २४,३५४ मतमा सीमित भए। यसैगरी श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५९९ मत प्राप्त गर्दा नेकपा एमालेका इरानकुमार राईले ७ हजार ७५२ मत र नेकपाका देउमान सम्बाहाङफेले १ हजार २५९ मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्र कांग्रेसका शर्माको गढ मानिन्छ।

मोरङ क्षेत्र नं. ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भए। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८ सय १८ मत पाए भने नेकपाका अमनलाल मोदीले १० हजार ६ सय ६२ पाए। यसै गरी एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत पाए। उक्त निर्वाचन क्षेत्रमा यसअघि तत्कालीन माओवादीबाट अमनलाल मोदीले निर्वाचन जितेका थिए।

मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा निर्वाचित भइन्। झाले कुल ३० हजार ४३४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे। झा र लालबानीबीचको मतान्तर २१ हजार १९ रहेको छ।

यसैगरी जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८,६१४ मत पाएका छन्। नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले ६,९४५ मत पाएका छन्।

मोरङ क्षेत्र नम्बर ६ राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य विजयी भएकी छन्। उनले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी हुन्।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे। उनीहरूबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ। एमालेका विनोद ढकालले ८ हजार ३१७ प्राप्त गर्दा श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत ल्याए। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका डा. कोइराला निर्वाचित भएका थिए।

झापा :  झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा रास्वपा उम्मेदवार निशा डाँगीले ४५ हजार ६८० मतसहित विजयी भइन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए।

एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत प्राप्त गरे।

झापाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा रानामगर निर्वाचित भइन्। रानामगरले ६० हजार ११० मत प्राप्त गरी विजयी भएकी हुन्।

उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७४२ मतको फराकिलो अन्तरले पराजित गरेकी छन्। घिमिरे यसअघि प्रतिनिधिसभाको सभामुख रहेका थिए।

घिमिरेले ११ हजार ३६८ मत मात्रै प्राप्त गरे। यस्तै, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ मत, नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ मत, र राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ३ हजार ९६६ मत पाएका छन्। रानामगर यसअघि समानुपातिक सांसद हुँदै उपसभामुखसमेत बनेकी थिइन्।

झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गर्दै पराजित भएका छन्।

यसअघि सो क्षेत्रमा राप्रपाका लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरी निर्वाचित भएका थिए। झापा-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन्।

उनले ४३ हजार ६३१ मत प्राप्त गरे। एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरे। कांग्रेसका देउमान थेवेले ९ हजार ४ सय ३४ मत पाए। श्रम संस्कृति पार्टीकी अमृतादेवी राई ७ हजार १ सय ६१ मतसहित चौथो भइन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट उनै ढकालले १४ हजार ७९ मत पाएका थिए। त्यसबेला एमालेका लालप्रसाद साँवा लिम्बूले २९ हजार ३ सय १५ पाएर निर्वाचित भएका थिए।

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्। देशभरकै सर्वाधिक चासो रहेको सो निर्वाचन क्षेत्रमा शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरी विजयी भएका हुन्। शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भए।

ओलीलाई शाहले ४९ हजार ६१४ मतले पराजित गरेका हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले ओलीले पराजित गर्दै विजयी भएका थिए।

पटकपटक सो क्षेत्रबाट निर्वाचित भएका ओली एमाले अध्यक्षसमेत हुन्। उनी आफ्नो बोलीको दम्भ र अहंकारका कारण देशभर एमाले खुम्चिएको छ। सोही निर्वाचन क्षेत्रबाट निर्वाचित बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमासमेत अघि सारेको थियो।

प्रकाशित: २६ फागुन २०८२ ८:३६ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast