काठमाडौँ- अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक संस्था एसियाली नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल) ले नेपालको प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ।
आज (आइतबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले छोटो समय र अपूर्ण पदाधिकारीका बाबजुद पनि प्राविधिक तयारीहरू कुशलतापूर्वक पूरा गरेको जनाएको हो।
एन्फ्रेलले जारी गरेको प्रारम्भिक प्रतिवेदनमा भदौ २३–२४ मा भएको राजनीतिक उथलपुथलपछि पनि नेपाली जनताले लोकतान्त्रिक प्रक्रियाप्रति बलियो प्रतिबद्धता देखाएको उल्लेख गरेको छ। तर, आयोगप्रति सरोकारवालाहरूको विश्वास कायम रहे पनि विशेष गरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र सूचनाको पहुँचमा भने केही रिक्तता देखिएको पर्यवेक्षकहरूको ठहर छ।
कार्यक्रममा पर्यवेक्षण टोली प्रमुख अधिवक्ता रोनाले प्रतिवेदनको सारांश प्रस्तुत गरेकी थिइन्। निर्वाचनका क्रममा चुनावी आचारसंहिताको कार्यान्वयन एउटा मुख्य चुनौतीका रूपमा देखा परेको उनले उल्लेख गरिन्।
प्रतिवेदनमा अनुगमन संयन्त्रहरू भए तापनि धेरैजसो उल्लंघनका घटनामा कारबाही नभएको र यसले राजनीतिक जवाफदेहितामा प्रश्न उठाएको उल्लेख छ। यस्तै कानुनी रूपमा खर्चको सीमा तोकिए पनि धेरै उम्मेदवारहरूले त्यसको उल्लंघन गरेको र यसले गर्दा आर्थिकरूपमा कमजोर रहेका महिला तथा सीमान्तकृत समूहका उम्मेदवारहरूलाई प्रतिस्पर्धा गर्न कठिन भएको पाइएको पर्यवेक्षकहरुले बताएका छन्। मतदानको दिन सुरक्षा व्यवस्था मजबुत भएको तर केही मतदान केन्द्रका भित्री भागमा हतियारधारी सुरक्षाकर्मीको उपस्थिति देखिएकाले भविष्यमा यसबारे स्पष्ट निर्देशिका बनाउन सुझाव दिइएको छ।
प्रतिवेदनअनुसार भौगोलिक विकटता र संरचनागत कठिनाइका कारण अपांगता भएका व्यक्ति र वृद्धवृद्धाका लागि धेरैजसो मतदान केन्द्रहरू पहुँचयोग्य नभएको पाइएको छ।
एन्फ्रेलकी कार्यकारी निर्देशक बृज्जा रोसालेसले आगामी एक महिनाभित्र निर्वाचन आयोगलाई पूर्ण प्रतिवेदन बुझाइने बताइन्। उनले यसमा समेटिएका सुझाव तथा सिफारिसहरू निर्वाचन आयोगले कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गरिन्।
निर्वाचन पर्यवेक्षण टोली संयोजक डा. मञ्जेश राणाले ३५ जिल्लाका ६०० मतदान केन्द्रहरूमा अवलोकन गरिएको र ६ सय भन्दा बढी सरोकारवालाहरूसँग वार्ता गरेर प्रतिवेदन बनाइएको बताए। पत्रकार सम्मेलनमा निर्वाचन विश्लेषक मरियम सारा नसिमको पनि उपस्थिति थियो।





