काठमाडौँ- काठमाडौँ क्षेत्र नं ५ बाट चुनाव जित्न नसकेपछि अभिनेत्री निशा अधिकारी फिल्म छायांकनतिर लागेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा व्यस्त भएको बताएकी हुन्।
चुनावअवधिभर फिल्म निर्माण टिमले आफूलाई पर्खेर बसेको भन्दै टिमलाई धन्यवाद पनि दिएकी छन्। फिल्ममा उनको ‘को-स्टार’ अभिनेता निखिल उप्रेती छन्। निशाले निखिलसँगैको तस्बिर पनि सार्वजनिक गरेकी छन्।
गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँ ५ मा निशा प्रत्यक्ष उम्मेदवार बनेकी थिइन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलले जितेसँगै निशा पराजित भइन्।
सस्मितले ३० हजार ७ सय ३७ मत ल्याएर विजयी बने। निशाले जम्मा ९१ मत ल्याइन्।
आफूले हारेपछि विजेता सस्मितलाई बधाइ दिँदै उनले लेखेकी छन्, ‘राजनीति मेरो लागि पदको यात्रा होइन, सेवा, मूल्यमान्यता र जिम्मेवारीको यात्रा हो। यो यात्रा यहाँ समाप्त भएको छैन। यो त केवल अर्को अध्यायको सुरुवात हो।’





