समानुपातिकतर्फ रास्वपाको भारी अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

हिमाल प्रेस २३ फागुन २०८२ २२:२७ | Saturday, March 7, 2026
26
SHARES
समानुपातिकतर्फ रास्वपाको भारी अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी अग्रतामा देखिएको छ। शनिबार साढे १० बजेसम्मको मतपरिणामअनुसार रास्वपाले पाँच लाखभन्दा बढी मत ल्याउँदै अन्य दलहरूलाई निकै पछाडि पारेको छ। निर्वाचन आयोगका अनुसार ११ लाखभन्दा बढी मत गणना भइसकेको छ।

समानुपातिक प्रणालीतर्फको मत परिणामले रास्वपालाई सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उभ्याएको देखिन्छ भने परम्परागत दलहरू नेपाली कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर अवस्थामा देखिएका छन्।

समानुपातिकतर्फको मतगणनाको विवरणअनुसार रास्वपाले पाँच लाख ६५ हजार ८४० मत प्राप्त गरेको छ। यो मत परिणाम दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झण्डै तीन गुणा बढी हो।

नेपाली कांग्रेस एक लाख ९० हजार १० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले एक लाख ४९ हजार ८९४ मतसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ७५ हजार २४५ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० हजार ९१८ मत ल्याएको छ।

यसैगरी श्रम संस्कृति पार्टीले १९ हजार ६१५ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १४ हजार ८६२ मत पाएको छ। अन्य दलमध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चार हजार ५३३ मत ल्याएको छ। जनता समाजवादी पार्टी, नेपालले तीन हजार ९९३ मत प्राप्त गरेको छ। एकल चिन्ह चकिया (जाँतो) अन्तर्गतका दलहरूले तीन हजार ७३६ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्र निर्माण दल नेपालले तीन हजार ४२० मत प्राप्त गरेको छ। नेपाल मजदुर किसान पार्टीले तीन हजार ४११ मत पाएको छ। जनमत पार्टीले तीन हजार ५७ मत प्राप्त गरेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले २ हजार ४४४ मत ल्याएको छ। नेपाल जनता संरक्षण पार्टीले दुई हजार ३४३ मत प्राप्त गरेको छ। राष्ट्रिय जनमोर्चाले एक हजार ७०४ मत ल्याएको छ।

प्रकाशित: २३ फागुन २०८२ २२:२७ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast