रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिनस्विप, स्थापित दलको भत्कियो किल्ला

विनोद परियार २३ फागुन २०८२ २१:१४ | Saturday, March 7, 2026
8
SHARES
रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिनस्विप, स्थापित दलको भत्कियो किल्ला

बुटवल- यसअघिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र जसपाले जित्दै आएको रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप पारेको छ।

देशभर रास्वपाको लहरजस्तै रुपन्देहीका निर्वाचन क्षेत्र न. १ देखि ५ सम्म घण्टी चिह्र (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले विजयी भएका हुन्।

निर्वाचन कार्यालय रुपन्देहीले शनिबार सार्वजनिक गरेको पाँचवटै क्षेत्रको परिणाममा रास्वपाले क्लिनस्विप पारी नयाँ रेकर्ड कायम गरेको छ।

क्षेत्र नं १ मा रास्वपाका महामन्त्री सुनिल लम्सालले ५४ हजार ८४५ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत मात्रै प्राप्त गरेर निकटतम् प्रतिद्वन्द्वी भए। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्जवल बोहराको ८ हजार ३०१ आउदा नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरेका छन्।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका घनश्याम यादवले दुई हजार १९८ मत ल्याए भने श्रम संस्कृतिका छविलाल गुरुङले एक हजार ८२४ र जनता समाजवादी पार्टीका मोहम्मद अस्लाम खानले एक हजार २४२ मत प्राप्त गरेका छन्। अन्य कुनै पनि उम्मेदवारले एक हजार मत प्राप्त गर्न सकेनन्।

३१ जना उम्मेदवार रहेको यस क्षेत्रमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका खत्रीबाहेक अरू सबैको जमानत जफत भएको छ।

लम्सालले संसद्को यात्रा तय गर्दैगर्दा यस अघिका सबै रेकर्ड तोडेका छन्। वि.सं २०७४ को निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको मतलाई उनले तोडेका छन्। तत्कालीन अवस्थामा विश्वकर्माले ३४ हजार ७५२ मत प्राप्त गरेका थिए जुन लम्सालले अहिले सहजै तोडेका छन्।

त्यसैगरी मतान्तरमा पनि उनले रेकर्ड राखेका छन्। यसअघिको ७ हजार ८६७ को मतान्तरमामा ब्रेक लगाउँदै लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर बनाउन सफल भएका छन्।

यता रुपन्देही-२ मा एमालेको लालकिल्ला तोड्दै रास्वपाका सुलभ खरेलले नयाँ रेकर्ड कायम गरेका छन्। खरेलले ०६४ देखि लगातार फराकिलो मतान्तरले जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्।

उनले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र पाएका हुन्। त्यसैगरी ०५६ सालमा केन्द्रमा जितेको र यो क्षेत्रमा पर्ने सबै स्थानीय तहमा निर्वाचित रहेको नेपाली कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ मतमा सिमित भए।

रुपन्देही-२ मा एमालको गढका रुपमा परिचित थियो। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पाल्पा २ जाने तय भएपनि बरु सुरक्षित बुटवल क्षेत्र नै हुने भन्दै यहीँबाट निर्वाचन लडेका हुन्।

२०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा सम्मानजनक मतका साथ विजयी भएका पौडेलको यो पटकको हार लज्जास्पद हो।

यस्तै रुपन्देही-३ मा रास्वपाका लेखजंग थापाले नेपालमै सर्वाधिक ठूलो मतान्तरले जित निकालेका छन्। उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरेका हुन्।

नेपालको इतिहासमै पहिलो पटक यो मतान्तरले निर्वाचन जितेको तथ्यांक भेटिएको छैन। थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले ८ हजार ४३५ मत ल्याएर प्रमुख प्रतिस्पर्धी बने।

नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत प्राप्त गरेका छन्। उनी पूर्वसांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व चर्चित मेयर हुन्। ०७९ को निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो भने त्यसअघि एमाले कांग्रेसले जित्दै आएका क्षेत्र हो। चिकित्सक डा.थापाको जितप्रति प्रतिस्पर्धीहरूले समेत शुभकामना दिए।

त्यस्तै रुपन्देही-४ बाट रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन्। उनले नेकपा एमालेका प्रमोदकुमार यादवलाई पराजित गरेका हुन्। बानियाँले २८ हजार ६६ मत प्राप्त गर्दा यादवले २० हजार २६२ मत प्राप्त गरे नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन्।

सुरुवातदेखि शनिबार विहानसम्म एमालेका प्रमोद यादवले अग्रता लिएपनि दिउँसोदेखि भने बनियाँले जित निकाल्ने गरी अग्रता लिएका हुन्।

यो क्षेत्रमा लगातार जित्दै आएका जसपाका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला भने ३ हजार ४१० मतमा सीमित भए। २०४८ सालदेखि यो क्षेत्रमा लगातार लड्दै आएका शुक्दाको यो हार लज्जास्पद नै हो।

त्यस्तै मधेश र पहाडी बस्तीको मिश्रित बसोबास रहेको रुपन्देही-५ मा पनि रास्वपाकै तौफिक अहमद खानले जित हासिल गरेका छन्।

उनले ३८ हजार ८०६ मत प्राप्त गरेर नेकपा एमालेका नेता खिमलाल भट्टराईलाई फराकिलो मतान्तरले जितेका हुन्। विगतका चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता भरतकुमार शाह भने तेस्रो भए।

भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, र नेकपाका वकिल मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका हुन्। यसअघिका निर्वाचनमा निर्वाचन क्षेत्र नं. ४ र ५ का दक्षिणी क्षेत्रमा मधेश केन्द्रीत दलहरूकै वर्चस्व रहने भएपनि यो पटक भने रास्वपाले अप्रत्याशित जित निकालेको हो। रुपन्देहीमा रास्वपाले ५ वटै निर्वाचन क्षेत्रमा जित निकालेर नयाँ मानक स्थापित गरेको छ।

प्रकाशित: २३ फागुन २०८२ २१:१४ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast