मतगणनास्थल। फाइल तस्बिर।
इटहरि- मोरङका ६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा गर्ने व्यवस्था मिलाइएको छ। निर्वाचन व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रका तोकिएका स्थानमा मतगणना गर्ने तयारी पूरा गरिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिका कार्यालयमा हुनेछ। त्यसैगरी, क्षेत्र नम्बर २ को मतगणना सिजुवास्थित विश्वनाथ मन्दिरमा गर्ने व्यवस्था गरिएको छ।
यस्तै, क्षेत्र नम्बर ३ को मतगणना बेलबारीको भगवती माध्यमिक विद्यालयमा हुनेछ। क्षेत्र नम्बर ४ को मतगणना विराटनगरस्थित जनता नमुना माध्यमिक विद्यालयमा गर्ने तयारी गरिएको छ।
क्षेत्र नम्बर ५ को मतगणना विराटनगरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको कार्यालयमा हुने छ भने क्षेत्र नम्बर ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने जनाइएको छ।
निर्वाचन सम्पन्न भएपछि सम्बन्धित केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा ती स्थानमा पुर्याएर मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।





